चिसाङको ठेक्का रोक्न दोस्रोपटक अदालतको आदेश,करोडौ राजश्व गुमाउँदै बेलबारी नगरपालिका

बेलबारी / मोरङको बेलबारी र कानेपोखरीको बिचमा रहेको चिसाङ खोला ठेक्का लगाउन बेलबारी नगरपालिकाले दोस्रो पटक खोलेको ठेक्कामा समेत उच्च अदालतले अंकुश लगाएको छ ।

ठेक्का तत्कालका लागि रोक्न अदालतले आईतबार स्टे अर्डर दिएको हो । पहिलो पटक खोलिएको ठेक्का रद्ध गरी दोस्रो पटक खोलिएको ठेक्कामा असहमति जनाउँदै श्री शिवजी कन्स्ट्रक्सनले अदालतमा हालेको मुद्धामा अदालते स्टे अर्डर दिएको छ । पहिलो पटक खुलेको ठेक्कामा सो कम्पनीको ८ लाख ५० हजार धरौटी नगरपालिकाले जफत गर्ने निर्णय गरे सँगै सो फर्मले मुद्धा हालेको थियो ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसद राईले अदालतले स्टे अर्डर दिएको तर प्रतिउत्तर दिन बाँकी रहेको र तत्काल प्रतिउत्तर दिने बताएका छन । पटक पटक ठेक्कामा बिवाद भएपछि बेलबारी नगरपालिकाले करोडौ राजश्व गुमाउदै आएको छ ।

यस आर्थिक बर्षमा ६ महिना पनि समय बाँकी नरहेको र पटक पटक अदालते स्टे जारी गरेपछि खोला ठेक्का लाग्ने र राजश्व उठने सम्भावना न्यून हुँदै गएको छ ।

गत असोज १६ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले मकालु इन्जिनिरियङ कन्सट्रक्सनलाई समय थप गर्दा पनि सम्झौता गर्न नआएकाले कालो सूचीमा राख्ने निर्णय गरेको थियो ।

सोही बैठकले धरौटी बापत राखेको रकम जफत गरी कालो सूचीमा राख्न ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउने निर्णय गरेको थियो ।

बेलबारी नगरपालिकाको सार्वजनिक खरिद नियमावली (शंसोधनसहित) २०७८ को नियम १४० नियम (शंसोधनसहित) बमोजिम पहिलो, दोस्रो र तेस्रो क्रमानुसार सम्झौता गर्नुपर्ने अवस्थामा सम्झौता गर्न नआउने दरभाउ पत्र, बोलपत्र वा डाँकवालाको धरौटी जफत गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

मकालुले समयमा सम्झौता गर्न नसक्दा श्री शिवजी कन्स्ट्रक्सनले स्वतः सम्झौता गर्न पाएको थियो । तर, उक्त कम्पनीले सम्झौता गर्न पाएन ।

ठेक्का पार्ने मकालु कन्स्ट्रक्सनले उच्च अदालत विराटनगरमा मुद्दा हालेकाले दोस्रो कम्पनीसँग नगरपालिकाले सम्झौता गर्न सकेन ।

मकालु कन्ट्रक्सनले २ करोड २२ लाख १९ हजार ९९९ रूपैयाँ ९८ पैसामा अधिकतम बोल कबोल गरेको थियो । श्री शिवजी कन्ट्रक्सनले १ करोड ६८ लाख ३७ हजार रूपैयाँमा बोल कबोल गरेको थियो । मकालुलाई कालो सूचीमा राखेपछि कार्यपालिका बैठकले श्री शिवजीसँग ठेक्का सम्झौता गर्ने निर्णय गरेको थियो । तर बिवाद भएपछि बेलबारी नगरपालिकाले पहिलो फर्मको ११ लाख ५० हजार र दोस्रो फर्मको ८ लाख ५० हजार धरौटी जफत गर्ने निर्णय गर्दै दोस्रो पटक ठेक्का खुालएको थियो ।

गत असार ८ गते बसेको कार्यपालिका बैठकले चिसाङ खोलालाई ठेक्कामा लगाउने निर्णय गरेको थियो । नगरपालिकाले असार १३ गते कानेपोखरी गाउँपालिकासँग सहमतिका लागि पत्र पठाएको थियो । चिसाङ खोला बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको छ । कानेपोखरी गाउँपालिकाले सहमति दिएको ६ दिनपछि स्थानीय एक दैनिकमा असार २५ गते खोला टेण्डरका लागि सूचना भएको थियो । साउन २५ गते विद्युतीय माध्यमबाट बोलपत्र पेस भएको थियो । नगरपालिकाका अनुसार श्री मकालु कन्स्ट्रक्सन,श्री शिवजी कन्स्ट्रक्सन र खिरपोखरी निर्माण सेवाले बोलपत्र पेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित