मोरङबाट गाँजासहित एक जना पक्राउ, चालक फरार

विराटनगर । मोरङबाट प्रहरीले शनिबार राति लागूऔषध गाँजा बरामद गरेको छ । कटहरी गाउँपालिका–१ बाट ९ किलो २ सय ग्राम गाँजा बरामद भएको हो । सवारीसाधन चेकजाँचका लागि खटिएको मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपाने नेतृत्वको टोलीले राति ८ः५० बजेतिर गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीको टोलीले शंकास्पद हिसाबले आइरहेको एउटा मोटरसाइकललाई विराटनगर–रंगेली सडक खण्डमा रोक्न खोजेको थियो । तर, ट्राफिकलाई छल्दै मोटरसाइकल चालक फरार भए ।

मोटरसाइकलको पछाडि सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ४१ वर्षीय अमर राई भने पक्राउ परे । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार राईले बोकेको जेब्रा झोला खानतलासी गर्दा ९ किलो २ सय ग्राम लागूऔषध गाँजा बरामद भएको छ ।

फरार रहेका मोटरसाइकल चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान अघि बढाइएको उनले बताए । पक्राउ परेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी डीएसपी दाहालले दिए ।

प्रतिक्रिया

सम्बन्धित