उर्लाबारीमा दुई मोटरसाइकल पुलमुनी खस्दा ४ जना घाइते

उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–७ शाखा मावा पुलमा दुई मोटरसाइकल ठोकिएर पुलमुनी खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ३ बजेर २० मिनेट जाँदा दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को.११ प.४८६८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको को.३३ प.६२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हँुदा पुलको पूर्व साईडको छेउबाट दुबै मोटरसाइकल पुल मुनि खसेको उर्लाबारी प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल खसेर घाइते भएका ४ जनामध्ये ३ जनाको डिस्चार्ज भएको छ भने १ जनाको अरनिको हस्पिटल प्रा.लि. उर्लाबारीमा उपचार भइरहेको छ । को.११ प.४८६८ नम्बरको मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका ९ बस्ने बर्ष ५० को गोपाल तामाङको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अरनिको हस्पिटलमा उपचार भईरहेको छ भने सो मोटरसाइकल पछाडि सवार सोही स्थानकी बर्ष १६ कि संजु सुब्बाको शरीरको विभिन्न भागमा सामान्य चोट लागेको छ । सुब्बालाई सामान्य उपचारपछि बेलुका ५ बजे डिस्चार्ज गरिएको छ ।

त्यस्तै, को.३३ प. ६२४६ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ८ सलकपुर बस्ने बर्ष २४ को सौगत शिवा र मोटरसाइकल पछाडि सवार उनका बुवा बर्ष ४६ को दिल कुमार शिवाको शरीरको विभिन्न भागमा सामान्य चोट लागेको थियो । उनिहरुलाई पनि बेलुका ५ बजे डिस्चार्ज गरिएको छ । दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित