सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई ३ वर्ष, पत्नी सृजनालाई डेढ वर्ष कैद सजाय

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण भएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय निर्धारण गरेको हो।

यसअघि गत माघ ७ गते इच्छारज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो। आइतबार सजाय निर्धारण गर्न बसेको इजलासले उक्त निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। 

नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो। विशेषले इच्छाराजलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ।

उनकी श्रीमती सृजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय तोकिएको छ। केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ।

यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य तामाङविरुद्ध १ अर्ब तीन करोड ५ लाख, छोरीहरू प्रतिक्षा विरुद्ध ६ करोड २२ लाख र प्रतिष्ठाविरुद्ध एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा चलाइएको थियो। सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध २६ करोड ६१ लाख रुपैयाँ विगो दाबी गरिएको थियो। सिभिल सहकारी प्रकरणमा इच्छाराज, सिर्जना र केशवलाल हाल कारागारमा छन्। 

सहकारीको बचत रकम इच्छाराजले निजी कम्पनीमा लगानी गरेका थिए। त्यहीकारण सहकारीमा जम्मा भएको साढे ५ अर्बभन्दा धेरै बचत पनि डुबेको थियो। यसअघि ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले २०७८ पुस १४ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

 

प्रतिक्रिया

सम्बन्धित