विराटनगर महानगरपालिकाकाे तेह्रौं  नगरसभा : महानगरवासीले गर्व गर्न लायक शहर बनाउन प्रतिबद्ध छौं : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । 
बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो ।

  उहाँले आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेका बताउनुभयो । मेयर कोइरालाले टोल विकास संस्था परिचालन गरी विराटनगरको सौन्दर्यकरणसहित विकास अभियानमा टोल विकास संस्थाहरूलाई सहभागी गराउने योजना रहेको सुनाउनुभयो । “यसले महानगरपालिका र विराटनगरवासीबीच सहकार्य गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु,” उहाँले भन्नुभयो । मेयर कोइरालाले महानगरवासीले गर्व गर्न लायक विराटनगर बनाउन इमान्दारितापूर्वक कार्य गरिरहेको सुनाउनुभयो ।

त्यस्तै कोइरालाले भौतिक पूर्वाधार निर्माणको कार्यलाई पनि तीव्रता दिइरहेको बताउनुभयो । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकलगायत १ अर्ब १५ करोडका विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा कोइरालाले जानकारी दिनुभयो ।

महानगरको प्रशासनिक भवन धमाधम निर्माण भइरहेको र आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । उहाँले करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको बताउनुभयो । विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिबद्धतानुसार जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको मेयर कोइरालाले बताउनुभयो । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको उहाँको भनाइ थियो । 

सो नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ सय अर्थात् ३३ प्रतिशत मात्रै भएको उमेयर कार्कीले प्रस्तुत गर्नुभयो । यसैगरी कुल अनुमानित व्यय ३ अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय १ अर्ब ३ करोड १६ लाख ९३ हजार ८ सय रुपैयाँ अर्थात् ३१ दशमलव १४ प्रतिशत मात्रै भएको कार्कीले बताउनुभयो । सो खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार ७ सय रुपैयाँ अर्थात् ३० दशमलव ६५ प्रतिशत र प्रशासनिक एवं चालुतर्फ ६२ करोड १५ लाख १९ हजार ३ सय रुपैयाँ अर्थात् ४० दशमलव १४ प्रतिशत भएको उमेयर कार्कीले अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभयो । 

महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले बताउनुभयो । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको उहाँले जनाउनुभयो । यस्तै जनसहभागितातर्फ ८ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै जनसहभागिता जुटेको उपमेयर कार्कीले जानकारी दिनुभयो । 

३ अर्ब २८ करोड ५ लाख रहेको बजेटलाई नगरसभाले संशोधन गरी ३ अर्ब ३४ करोड ६७ लाख १२ हजार पु¥याएको छ । त्यसैगरी न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारञ्जित, विधेयक समितिका संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाा संयोजक वासुबहादुर बस्नेत, सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादवले आ–आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गुरेको छ । सभामा सदस्यहरू रोम भट्टराई, अञ्जु दाहाल, सुरज न्यौपानेलगायतले  महानगरको विकासका सन्दर्भमा विभिन्न सुझावसँगै विचार व्यक्त गर्नुभएको थियो । नगरसभाले नगर प्रहरी विधेयक, बजार व्यवस्थापन तथा अनुगमन विधेयक, कृषि विधेयकसहित विभिन्न विधेयक र ऐनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित