मोरङको ग्रामथान र बूढीगंगामा दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान र बूढीगंगा गाउँपालिकामा दुर्घटना हुँदा एक जना वृद्धसहित दुई जना पुरुषको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट बुधबार दिउँसो एक जना युवकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका अन्दाजी २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो ।

पैदल हिँडिरहेका बेला ट्याक्टरले दिउँसो ३ः२५ बजेतिर सरदारलाई ठक्कर दिएको उनको भनाइ छ । इन्सपेक्टर न्यौपानेले उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो ४ बजेतिर सरदारको मृत्यु भएको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । ट्याक्टर र चालक बेलबारी नगरपालिका–२ का २६ वर्षीय लक्ष्मण परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलले ठक्कर दिँदा मंगलबार साँझ एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ । इन्सपेक्टर न्यौपानेका अनुसार विराटनगरबाट सुनसरीको दुहवीतर्फ जाँदै गरेको को ३८ प ९९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बूढीगंगा–३ बाँसबारीका ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रेग्मीलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा साँझ ५ः२५ बजेतिर मृत्यु भएको हो । सडक पार गर्दै पश्चिमबाट पूर्वतर्फ गइरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक दुहवी नगरपालिका–१ का प्रदीपविक्रम साह फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साह विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत थिए । मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित