निर्दयी आमा : उखुबारीमा दुधे बालिकालाई बाँधेरआमा फरार

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेकी नाबालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने उनकी आमा हालसम्म फरार रहेकी छन्। जिल्लाको पुर्नवास नगरपालिका २ अमरैया कि शर्मिला चौधरीले १४ महिने छोरीलाई उखुबारीमा बाँधेर फरार भएकी हुन्।बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिकाको उद्दार गरेका थिए।

सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी नाबालिकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो।उनलाई उद्दार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो। त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्कमा आएको प्रहरीले जनाएको छ। शिशुलाई शर्मिलाकी आमा रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए।

शर्मिला बिहीबार साँझ शिशुलाई लिएर माइत घरबाट हिँडेकी खुलेको छ। परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानको घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन्। तर, उनका आमाबुवालाई पनि बच्चाको बुवा को हुन् भन्नेबारे अझै जानकारी छैन।शर्मिलाले केही समय सेती प्रादेशिक अस्पताल धनगढीमा बच्चा जन्माएकी हुन्। त्यही बेला पनि शिशु छोड्नको खोजेको तर, प्रहरीको सहयोगमा उनलाई घर लगिएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित