पृथ्वी जयन्तीको अवसरमा हतुवागढीमा शिलालेख अनावरण

भोजपुर / ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा यस स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्ती दिवसको अवसरमा शिलालेखको अनावरण गरिएको हो । नेपाली सेनाको आयोजनामा घाडेटार बजार क्षेत्रमा मार्चपछि पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पन, झण्डा तोलनसँगै शिलालेखको अनावरण गरिएको हो । यो गढी क्षेत्रमा सेनाको गुल्म रहेको गढीको सेनाले संरक्षण गर्दै आएको छ । 

नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले सेनाले गढीको संरक्षण गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराउनुभयो । यो एउटा महत्वपूण गढी रहेकोले यसको विकास तथा संरक्षणको लागि ध्यान दिनु पर्ने उहाँको भनाइ छ । हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताउनुभयो । गढी क्षेत्रमा सेनाको गुल्म रहेकोले स्थानीयलाई सहज आवत जावतमा केहि समस्या यसको समाधानको लागि योजनाबद्ध रुपमा काम भईरहेको उहाँको भनाइ छ । 

यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “यो हाम्रो ऐतिहासिक गढी हो”अध्यक्ष राईले भन्नुभयो,“यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ ।यसलाई पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ ।हामीले यसको आसपासमा सङ्ग्राहय निर्माण गर्ने सोच लिएका छौँ ।” ऐतिहासिक महत्व बोकेको गढी रहेकोले यसको विकास तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । समाजसेवी इश्वरमान राईले गढीको संरक्षणमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउदै, यहाँको गुल्मको स्थायीत्वको लागि ध्यान दिनुपर्ने बताउनुभयो । 

खण्डहरको रुपमा रहेको यो गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको उहाँको भनाइ छ । तत्कालिन किरात राजाहरुले शासन गरेको यो गढी समुन्द्रि सतहबाट एक हजार छ सय ३७ मिटर उचाईमा रहेको छ । हतुवागढीलाई ऐतिहासिक गढीहरु मध्येमा सवैभन्दा शक्तिशाली तथा राज्यको रुपमा लिने गरिन्छ । हतुवागढीमा वि.स.१८२७ शुरु देखी १८२९ सम्म गोर्खाली राजा पृथ्वी नारायण शाहका तर्फबाट सैनिक कमाण्डर काजी अभिमान सिंह बस्नेत र किरात फौज बीचको युद्धबाट यो राज्य नेपाल एकिकरण अभियानमा गाभिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित