बालबालिकालाई ‘लोभ देखाएर’ कानको मुन्द्रा लुट्ने महिला पक्राउ

काठमाडौं / खेलिरहेका बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो ।

लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकको ललितपुर महानगरपालिका–६ कनिबहालमा सुन पसल छ । सन्दिपाले लुटेको सुन मुरलीले गालेर गहना बनाउँथे । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ६१ लाल गालेको सुन र ६२ लाल गाल्न बाँकी सुन मुरली बिकको पसलबाट बरामद गरिएको छ ।

काठमाडौँको नेपालटार बस्ने सन्दिपा सार्वजनिक गाडी चढेर निश्चित ठाउँमा जान्थिन् । अनि, त्यहाँ मुन्द्रा लुटेर भाग्थिन् । बच्चा फकाउँदै हिँडेको सिसिटिभी फुटेज हेरेर प्रहरीले उनको पहिचान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित