भुमिपति बने पछिको खुसी : अव घरबास बनाएर तरकारी लगाउँछौ

महोत्तरी । महोत्तरी बर्दिवास-२ का अमृत आले पढन जान्दैनन तर लालपुर्जामा टासेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन । उनकाे खुसी अनुहारमा छल्किरहेको छ । नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनई यसकाे प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चै थाहा छ ।

नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरी कहाँ बस्ने र के खाने ? भन्ने त्राही-त्राहीमा रहेका भुमिहिन तथा दलित भुमिहिन लालपुर्जा देखाउँदै अनेक सपनाहरु सुनाई रहदाँ खुसी र सुख के हो ? भन्ने अनुभुती जो कोहीले गरिरहेका देखिन्थ्यो ।

प्रमुख अथिति तथा अथितिहरुले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरवाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए । `बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतिले भने, `कमसेकम मर्ने बेलामा भुमिपति भएर मर्न पाइने भयो ।´

उमेरले डाडो काटे तापनी आले अहिले पनि ठेला चलाउँछन । यही पेशावाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए । `छोराहरुले कमाउन थाले तापनी आफ्नै जग्गा र घर जोर्ने सपना सपनामा नै सिमित बन्यो,´ उनले भने, `अब जग्गा नगरले दियो, घर बनाउन छोराहरुलाई भन्छु ।´ 

वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछी निक्कैवेर भावुक भईन । उमेरले ६९ बर्ष पुगेकी परियार छोराछोरी भएता पनी एक्लिएको अनुभुती भएता पनि नगरले जग्गा दिएर सहारा प्रदान गरेको बताईन । `एउटा छाप्रो बनाउछु अनि तरकारी लगाएर भएपनि अब जिविकोपार्जन गर्छु,´ परियारले भनिन । 

अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुदाँ लामो समयदेखी कोठामा बस्दै आएकी थिइन । घरवासको लागि आफ्नै जग्गा थिएन । बनिबुताे गरेर जिविकोपार्जन गर्दै आएकी उनकाे श्रीमान बर्षौ पहिला वितेका थिए । `घरबास नहुदाको पीडा मलाई जति अरु कस्लाई थाहा होला र ?´ सोममायाले खुसी हुदै भनिन, `कमसेकम भुमी आयोग र नगरले हाम्रो पिडालाई थोरै भएपनी मलम लगाउने प्रयास गरेको छ ।´

उनीहरु जस्तै बर्दिवास-२ स्थित २५ नम्बर बहादुर गंज ४ घ कित्ता न.३२ वाट प्रती घरधुरी १ कठ्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछी उनिहरुले घरवास बनाउने मात्र योजना बनाएका छैनन्, तरकारी तथा अन्य उत्पादन गरेर व्यवसायिक बन्ने समेत सपना बुनेका छन ।

पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पुर्ण भुमिहिनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भुमि आयोग महोत्तरीले २२ मंसिरमा हकदावीको लागी नामावली प्रकाशन गरेको थियो । त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछी २९ मंसिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भुमी आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।

सोहीअनुसार आज ५३ जना भुमिहिनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भुमिहिनको नाममा छानविन भैइरहेको पनि उन्ले वताए । ६० जना मध्ये  कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भुमी आयोगले छानविनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिती वनाएको छ । समितिले पेश गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडी बढाईने भुमी आयोगले जनाएको छ ।

यता आफ्नै  कार्याकालमा नगरभित्र रहेका कसैलाई भुमिहिन हुन नदिने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । अव्यवस्थित वसोवासीको समेत काम तिव्ररुपमा गरेको वताउदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।

प्रतिक्रिया

सम्बन्धित