कोशीको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

विराटनगर । कानुन व्यवसायी रूपेश कोइराला आइतबार कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् । अधिवक्ता कोइराला विराटनगर महानगरपालिका–९ निवासी हुन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने कानुनी व्यवस्था छ । नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालाले आइतबार नै पद तथा गोपनीयताको शपथ लिने छन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।

नेपाली कांग्रेसनिकट अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार हुन् । उनी यसअघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको नियुक्त भएका थिए । हालका मुख्यमन्त्री केदार कार्कीले आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा कोइरालालाई कानुन विज्ञ नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित