सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी

बारा । बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन्। पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन्। किराना पसल व्यवसाय गर्दै आएका अंसारीले मंसिर १६ गते चार लाख २५ हजारमा सुन भनेर १०/१० ग्रामको पाँच वटा बिस्कुट खरिद गरेका थिए। सुन भनेर किनेको उक्त बिस्कुट गहना बनाउन खोज्दा पित्तल निस्किएपछि अंसारी न्याय खोज्दै प्रहरी कार्यालय पुगेका छन्। 

यादवले ठगीमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउन आग्रह गरे। अंसारीले प्रहरीमा दिएको जाहेरीमा बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा बस्ने ४० वर्षीय विनय थारु चौधरीसँग उक्त धातु खरिद गरेको उल्लेख गरेका छन्। थारुले पसलमै आएर आफूसँग १०/१० ग्रामको सुनको पाँच वटा बिस्कुट रहेको र पैसाको खाँचो परेको हुँदा मिलाएर दिने बताएपछि आफूले उक्त धातु खरिद गरेको अंसारीको भनाई छ। 

आफ्नो चिनजानका महागढीमाई नगरपालिका वडा नम्बर ९ का राजेन्द्र महतोले थारुसद्दग आफूलाई भेट गराएको र सोही भेटमा थारुले आफूलाई सुन भनेर उक्त धातु बेचेको जानकारी अंसारीले प्रहरीलाई दिए। आफू ठगिएको जानकारी पाएपछि अंसारीले चौधरीविरुद्ध ठगी मुद्दा दर्ता गराएको हो। 

बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले सुन भनेर पित्तल खरिद गर्न पुगेको विषयलाई लिएर प्रहरीमा उजुरी परेको बताए। उपरीक्षक काफ्लेले उक्त धातु सुनजस्तो नदेखिए पनि जाँचका लागि पठाइने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित