१० बर्षिया बालिकालाई बालात्कार गरेको आरोपमा एक जना पक्राउ

सुन्दरहरैचा / १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर रहेका छन् । इलाका प्रहरी कार्यालय विराटचोकबाट सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति मगरलाई घरबाटै पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धनकुटा घर भएकी बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्दै आएका थिए । बुवा विदेशमा छन् । आमाले दोस्रो बिहे गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् ।

अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

अभिभावक कोही पनि नभएको अवस्थामा शौचालयनजिकको खाली जग्गामा लगेर बलात्कार गरेको पाइएको दाहालको भनाइ छ । उनका अनुसार मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको पत्ता लागेको छ ।

हातमा समातेर तान्दै गर्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको हो । ‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइछन् । त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो,’ डीएसपी दाहालले भने, ‘सोधीखोजी गर्दा यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको पाइएको छ ।’

उनका अनुसार बालिकाले आफूलाई यसअघि पनि मगरले पटकपटक बलात्कार गरेको सुनाएकी छिन् । बारम्बार बलात्कृत भएपछि बालिका उनको छेउछाउ जान नमान्ने तथा राति निद्रामा चिच्याउने, डराउने र तर्सिने गरेको जानकारी अभिभावकले प्रहरीलाई गराएका छन् ।

पीडित बालिकालाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ । शरीरमा बाहिर देखिने चोटपटक भने नरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । मगरविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित