मोरङको कानेपोखरीमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

कानेपोखरी । मोरङको कानेपोखरीमा तीन जना सवार मोटरसाइकललाई बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मंगलबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार रहेका दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडक क्रस गर्ने क्रममा ग ३ च १६५ नम्बरको बोलेरोले प्रदेश १–०५–००१ प ६५६१ नम्बरको मोटरसाइकललाई साँझ ७ः२० बजेतिर ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–५ का १८ वर्षीय कृष्णदेव चौधरीको मृत्यु भएको श्रेष्ठले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ राति ८ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–५ का १८ वर्षीय श्यामनन्द चौधरी र १९ वर्षीय विशाल चौधरी घाइते भएको डीएसपी श्रेष्ठले बताए । गम्भीर अवस्थाका दुवै घाइतेको नोबेल अस्पतालमै उपचार भइरहेको छ । बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा समेत तीन जना सवार थिए ।

पश्चिमबाट पूर्व आई दक्षिणतर्फ जानका लागि बाटो क्रस गर्दै गरेको बोलेरोले दक्षिणबाट उत्तर आई पश्चिमतर्फ जान खोज्दै गरेको अवस्थामा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ । दुर्घटना गराएपछि फरार बनेको बोलेरो र चालक सप्तरी कंकालीका ३४ वर्षीय विनोद शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार बिहान नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेर बोलेरो र मोटरसाइकलमा समेत क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित