पूर्वाञ्चल विश्वविद्यालयमा पसेर हात्तीको वितण्डा, केरा खेतीमा पनि पुर्‍यायो क्षति

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा पसेर जंगली हात्तीले सोमबार राति वितण्डा मच्चाएको छ ।

प्रहरीका अनुसार विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर हात्तीले क्षति पुर्याएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति गरेको जानकारी दिए ।

झ्याल र ढोकाको सिसा फुटाइदिनुका साथै किचनको चुल्हो भत्काइदिएको उनले बताए । पूर्वाञ्चल विश्वविद्यालयमा क्षति गरेर हात्ती जंगलतर्फ लागेको प्रहरीको भनाइ छ ।

त्यस्तै, हात्तीले सुन्दरहरैँचा–७ मा लेखनाथ प्रसाईंले २ बिघा क्षेत्रफलमा लगाएको केरा खाइदिएको छ । साथै, केरा खेतीमा क्षतिसमेत पु¥याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीले केरा खेतीमा ५० हजार मूल्य बराबरको क्षति गरेको छ ।

यसैबीच, हात्तीले सुन्दरहरैँचा–७ स्थित एउटा घरमा समेत क्षति पुर्याएको छ । कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको १ तले घर भत्काइदिएको हो । प्रहरीका अनुसार हात्तीले घर भत्काउँदा ५० हजार बराबरको क्षति भएको छ ।

घरमा क्षति गरेर हात्ती जंगलतर्फ लागेको डीएसपी दाहालले बताए । हात्तीले वितण्डा मच्चाउन थालेपछि सर्वसाधारणलाई सचेत गराउन तथा हात्तीलाई बस्तीमा पस्न नदिने उपाय खोज्न प्रहरी चौकी गछियाबाट सइ (प्रहरी नायव निरीक्षक) सूर्यबहादुर बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

सुन्दरहरैँचा–१० मा गोली हानेर सोमबार बिहान एउटा जंगली हात्तीको हत्या गरिएको थियो । त्यसपछि हात्तीको बिज्याइँ बढेको छ । सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीका अनुसार आफ्नो समूहमा रहेको हात्ती मारिएपछि अन्य हात्तीहरु आक्रोसित भएर क्षति पुर्याउन थालेको हुनसक्छ । हात्तीबाट जोगिन सर्वसाधारणलाई रातको समयमा सजक र सतर्क रहेर बस्न तथा एक्लै हिँडडुल नगर्न आग्रह गरिएको माझीले बताए ।

प्रतिक्रिया

सम्बन्धित