खाेटाङमा काेदाे उत्पादन तेब्बर : आम्दानी नहुदा कृषकहरू चिन्तित

खोटाङ । खोटाङमा रैथाने बाली कोदोको उत्पादन राम्रो छ तर यसबाट उल्लेखनीय आम्दानी हुन नसक्दा किसान चिन्तित छन् । उनीहरूले अन्य विकल्प नभएका कारण मात्र बारीमा कोदो रोप्ने गरेको बताउँछन् ।

जिल्लाका प्रायः सबै ठाउँमा कोदो फल्छ, कृषकले रोप्दै पनि आएका छन् तर यस खेतीबाट कृषक सन्तुष्ट भने छैनन् । चालु आर्थिक वर्ष २०८०/८१ म मात्र खोटाङमा ३४ हजार १४६ मेट्रिक टन कोदो उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र खोटाङसँग छ तर कोदोलाई सदुपयोग गर्न नसक्दा कोदो खेतीबाट कृषकले लगानी उठाउन सकेका छैनन् । अधिकांश कृषकको भनाइ अनुसार गाउँघरमा कोदोको प्रयोग जाँड रक्सीमा मात्र भइरहेको छ तर त्यसबाट पनि उल्लेखनीय आम्दानी छैन । रोटी, ढिँडो र कोदोको पिठोको अन्य परिकार बनाएर खाने चलन विस्तारै हराउँदै गएको छ ।

जिल्लामा अहिले १९ हजार १८४ हेक्टर क्षेत्रफलमा कोदो बाली लगाउने गरिएको छ । रावा बेँसी गाउँपालिका–३, लामिडाँडाका कृषक कुमार श्रेष्ठ भन्नुहुन्छ, “कोदो खाँदा के फाइदा हुन्छ भनेर अहिलेका युवालाई थाहा नै छैन । कोदोले दिने बल चामलको भातले कहाँ दिन्छ र ? कोदाको ढिँडो र तरकारी खाएर पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो, दिनभरि काम गर्न सकिन्थ्यो । हामी सानोहुँदा घरमा चामल नै हुँदैन थियो, यही कोदोको परिकार खाएर हुर्केका हामी, त्यसैले अझै काम गर्न सक्ने छौँ । अहिलेका युवा त ढिँडो नखाएर पनि होला बल नभएको ।”

आयुर्वेद चिकित्सक उमेश मेहताको भनाइ अनुसार सुगरको बिरामीहरूका लागि सबैभन्दा फाइदा कोदोको परिकारले गर्छ । स्वास्थ्यको हिसाबले कोदोको परिकारले हरेक व्यक्तिलाई राम्रो गर्ने उहाँको भनाइ छ । तथापि सुगरको बिरामीलाई कोदो ठुलो औषधी हो ।

जिल्लामा लाग्दै आएको साप्ताहिक हाटबजारमा फाट्टफुट्ट कोदो बिक्री गरेको देखिन्छ । बजारमा कोदो प्रतिकिलोग्राम ५० देखि ६० रुपियाँमा अहिले किनबेच हुँदै आएको छ । 

जनजातिहरूको चाडपर्वमा, पितृ देउतालाई कोदोको जाँड तथा रक्सी चढाउने चलन छ । अर्थात् प्रायः जनजातिहरूको पूजाआज वा कुनै कार्यमा कोदोको जाँड रक्सी आवश्यक पर्छ । यसबाहेक कोदोलाई अन्य कुनै कुरामा सदुपयोग गर्न सकिएको छैन । 

कोदोको पिठोबाट चाउचाउ, मःम, केकलगायतका परिकार बनाउन सकिन्छ । कोदोको परिकारहरू बनाएर प्याकेजिङ गरी ब्रान्डिङ गर्न सके खोटाङका कृषकको दरिलो आम्दानीको स्रोत कोदो हुने सूचना अधिकारी पण्डित बताउनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित