रकम हिनामिना गरेको आरोपमा नोबेल अस्पतालका तीन कर्मचारी पक्राउ

विराटनगर । रकम हिनामिना आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारी पक्राउ परेका छन् । अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहवी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार तीनै जनालाई ‘क्यासियर’को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको पाइएको छ ।

अस्पतालको ‘क्यास काउन्टर’मा कार्यरत उनीहरुकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अस्पतालले किटानी जाहेरी दिएपछि तीनै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको दाहालले बताए । उनका अनुसार बराल र फौदारलाई पुस १० गते तथा विश्वासलाई पुस १३ गते पक्राउ गरिएको हो । उनीहरुविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए ।

पक्राउ परेकाहरुमाथि उपचारका लागि भर्ना भएका बिरामीसँग अस्पतालले लिनुपर्ने रकम अपचलन गरेको आरोप लागेको छ । ‘क्यासियर’को जिम्मेवारीमा रहेका कर्मचारीले ‘बिलिङ काउन्टर’मा बसेर बिरामीसँग उपचारवापतको सम्पूर्ण रकम लिने र अस्पताललाई भने थोरै मात्र देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । महँगो सेवा लिएका बिरामीले सस्तो सेवा लिएको देखाएरसमेत अनियमितता गरेको प्रहरीको भनाइ छ । थप अनुसन्धानपछि अन्य कुरा खुल्दै जाने दाहालले बताए ।

कर्मचारीले अस्पतालमा भर्ना भएका बिरामीसँग बढी पैसा लिने र अस्पताललाई कम देखाउने गरेको पाइएको नोबेलका महाप्रबन्धक दिपेश राईले बताए । राईका अनुसार कति रकम हिनामिना गरियोभन्ने प्रष्ट भइसकेको छैन । कर्मचारीले अनियमितता गरेको रकम यकिन गर्न बिलको चेकजाँच गर्ने र हिसाब–किताब हेर्ने काम भइरहेको उनको भनाइ छ ।

उनका अनुसार अनियमिततामा अरु कर्मचारी पनि संंलग्न रहेको आशंका छ । आर्थिक अपचलनको विषय पत्ता लगाउन अस्पताल प्रशासनले आन्तरिक हिसाबबाट छानबिन थालेको छ । राईका अनुसार लेखापरीक्षण शाखा र लेखा शाखालाई छानबिनको जिम्मा दिइएको छ । ‘छानबिनको अन्तिम विवरण प्राप्त भइसकेपछि सबै यकिन हुन्छ,’ उनले भने, ‘कर्मचारीले लाखौं रूपैयाँ हिनामिना गरेको अनुमान छ ।’

प्रतिक्रिया

सम्बन्धित