ओखलढुङ्गाकाे याे गाउपालिका : जहा घर भन्दा राम्राे शाैचालय छ

ओखलढुङ्गा । आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रो) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको । झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय । 

यी ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन् । मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय । शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ । 

छाप्रामा बस्ने दर्जी परिवारलाई शौचालय ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गतको समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) ले बनाइदिएको हो । पुसको कठ्याङ्ग्रिँदो जाडोमा उक्त टहरामा १५ महिने बालकसहित अपाङ्गता भएका दर्जी दम्पती बस्छन् । बस्ने घर चिसो रहेको तर शौचालय भने न्यानो रहेको अनुभूति दर्जी दम्पतीको छ । उहाँहरूले शौचालय बनाउन सहयोग गरे जस्तै कसैको सहयोग भए घरको नै न्यानो अनुभूति गर्ने अवसर मिल्ने थियो भनी दुःखेसो गर्नुभयो ।

४० वर्षीय दर्जी र उहाँकी २३ वर्षीय श्रीमती शर्मिला नेपाली दुवै जना अपाङ्गता भएका व्यक्ति हुन् । छत्रलाई मानसिक स्वास्थ्य समस्या छ भने शर्मिला स्वर (बोली) सम्बन्धी अपाङ्गता भएका हुन् । दर्जीले नियमित मानसिक स्वास्थ्यसम्बन्धीको औषधी सेवन गरिरहेको खिजिदेम्बा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताउनुभयो । 

ज्याला मजदुरी गरेर घर चलाउँदै आएका विपन्न दर्जी परिवारलाई बस्ने घरको आवश्यकता रहेको छिमेकी ज्योति नेपालीले बताउनुभयो । “कतैबाट जस्तापाता र केही आर्थिक सहयोग प्राप्त भए हामी स्थानीयले घर बनाइदिने सल्लाह भएको छ,” नेपालीले जानकारी दिनुभयो । मान्द्रोले बारेर बनाइएको छाप्रोभित्र चिसो भुइँमा सुत्दा उनीहरूका १५ महिने छोरा पटक पटक बिरामीसमेत परेको छिमेकी नेपालीको भनाइ छ । 

रामेछाप जिल्लाका विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै हिँडेका दर्जी करिब दुई वर्षदेखि मात्र गाउँमा नियमित बस्न थाल्नुभएको वडाध्यक्ष टङ्कराज सुनुवारले बताउनुभयो । गाउँमा बस्न थालेपछि छिमेकीको सहयोगमा मान्द्रोको अस्थायी छाप्रो घर बनाइएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । दर्जी परिवारलाई जनता आवास कार्यक्रममार्फत घर पार्ने पहल भइरहेको वडाध्यक्ष सुनुवारले बताउनुभयो । वडा कार्यालयमार्फत सौर्य बत्ती उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारको भनाइ छ । ओखलढुङ्गा सामुदायिक अस्पताल अन्तर्गतको समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (सिबिआर) ले दर्जी परिवारलाई आधुनिक शौचालय निर्माण गर्न सयोग गरेको सिबिआर प्रमुख तुलाराम कार्कीले बताउनुभयो । 

संस्थासँग घर बनाउने बजेट नभएकाले शौचालय बनाउन सहयोग गरिएको प्रमुख कार्कीको भनाइ छ । जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्ने योजना बनेको प्रमुख कार्कीले जानकारी दिनुभयो । सिबिआरले अपाङ्गता तथा उनीहरूका परिवारका लागि शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिकीकरण र सशक्तीकरणको क्षेत्रमा सहयोग गर्दै आएको छ ।  

प्रतिक्रिया

सम्बन्धित