प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएको भन्दै धरानका प्रमुख पाँचदलकाे आपत्ति

धरान /  उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख र प्रधानमन्त्रीको तस्बिर हटाएको भन्दै धरानका प्रमुख पाँचदलहरुले गम्भीर आपत्ति जनाएका छन्।

आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पाँचदल (नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पार्टी) ले मिति २०८०।९।१२ गतेका दिन धरान उपमहानगरपालिकाको प्रमुखले आफ्नो कार्य कक्षको भित्तामा राखिएको राष्ट्र प्रमुख र राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएको प्रति ध्यानाकर्षण भएको जनाउँदै गम्भीर आपत्ति जनाएका हुन्।

वक्तव्यमा “ “धरान उपमहानगरपालिका प्रमुखको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरङ्कुश र उदण्ड शैली मार्फत हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ? भन्ने बहसलाई उजागर गरेको जनाईएको छ।

यसै गरी पाँच दलको विज्ञप्तिमा सुन्दर, शान्त, सभ्य र शिक्षित सहरको रूपमा विकसित हुँदै गइरहेको धरान उपमहानगरपालिकालाई हाँस्य र लज्जाको सहरको रूपमा परिणत नगर्न हामी धरान उपमहानगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै संविधान र राष्ट्रप्रति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख÷राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्नुहुन पनि जोडदार माग गरेको छ।

वक्तव्यमा “स्थानीय तहको कार्यालयमा नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम राष्ट्र प्रमुख र प्रधानमन्त्रीको तस्बिर संविधानको रक्षक र कार्यकारी प्रमुखको सम्मानमा राख्न सबैको कर्तव्य हुने भन्ने उल्लेख गरिएको छ।” वक्तव्यमा २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गर्नु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै विडम्बना धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डता प्रस्तुत गर्दै उपमहानगर प्रमुख अगाडी बढेको देखिन्छ ।

जसको कारण भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम बारम्बार भएको जनाइएको छ। वक्तव्यमा धरानका प्रमुख राजनैतिक दलहरू नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेल, नेकपा एमाले उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका कार्यवाहक नगर अध्यक्ष सम्फर तामाङ, जनता समाजवादी पार्टी धरान अध्यक्ष ताजुब लिम्बू ,नेकपा एकीकृत समाजवादी पार्टी धरानका सचिव खेम प्रसाद दाहालले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित