मोरङको बेलबारीका तीनवटा ज्वेलर्समा चोरी

बेलबारी। मोरङको बेलबारीका तीनवटा ज्वेलर्स (सुनचाँदी पसल)बाट एकैरात ठूलो मूल्य बराबरको धनमाल चोरी भएको छ । लाखौं मूल्य बराबरको सुन र चाँदीका गहना एवं सामग्री मंगलबार राति चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार चोरी भएका सबै ज्वेलर्स बेलबारी नगरपालिका–१ मा छन् । चोरीमा संलग्न र घटना गरिएको समय हालसम्म पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पसल फोडेर चोरी गर्ने समूहको खोजी जारी छ । बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विक (साजन)ले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कूलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीमा चोरी भएको डीएसपी दाहालले बताए ।

उनका अनुसार न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी सयवटा (अन्दाजी २५ तोला), तामाको बुटी सयवटा (अन्दाजी ३ सय ग्राम) र ४ आनाको सुनको पोते चोरी भएको छ । नवरत्न ज्वेलर्सबाट २ किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको जानकारी उनले दिए । ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजू, औंठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको छ ।

त्यस्तै, कूलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलोग्राम बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ । दाहालका अनुसार चाँदीबाट बनेको एउटा खड्कुँलो, ६ वटा करुवा, एउटा गाग्री, १२ वटा थाली, २ वटा बटुका, चुरा, पाउजू, कल्ली, कम्मर बेल्ट, औंठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको पाइएको छ ।

पसलहरुमा रातको कुन समयमा चोरी भएको हो भन्ने यकिन भइसकेको छैन । घटनामा संलग्नको पनि पहिचान भएको छैन । डीएसपी दाहालका अनुसार घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिन्छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेर चोरीमा संलग्नको खोजी व्यापक बनाएको छ । घटनास्थल वरपर रहेका सीसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्न गिरोह पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित