सफारी व्यवस्थापनमा इटहरी उपमहानगरको नयाँ प्रयास : टाइम कार्ड

इटहरी । पूर्वको व्यापारिक अनि व्यस्त सहर इटहरी । चौबाटो भएकोले पनि इटहरीमा सवारी साधनको सङ्ख्या र आवतजावत बढ्ने नै भयो । सवारी साधनहरूमा पनि विद्युतीय रिक्सा (सिटी सफारी) को सङ्ख्या अत्याधिक बढ्दो छ । यात्रु ओसार्दासम्म त केही थिएन तर यात्रुको खोजीमा यताउता घुमिरहने विद्युतीय रिक्साका कारण ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त हुन थालेपछि इटहरी उपमहानगरपालिकाले टाइम कार्ड लागु गरेको छ । 

इटहरीमा सफारी व्यवस्थापनको लागि यसअघि पनि विभिन्न प्रयास नगरिएका होइनन्, नियमहरू नल्याइएको होइन, तर जब जब व्यवस्थित गर्न खोजिन्थ्यो, तब तब आन्दोलन र हड्ताल हुन्थ्यो र प्रयास विफल हुन्थे । इटहरी उपमहानगरपालिका तथा ट्राफिक प्रहरी कार्यालय अनि स्वयं सफारी सञ्चालकहरू टाइम कार्डबाट सफारी व्यवस्थित हुने बताउँछन् । 

किन चाहियो टाइमकार्ड ?

इटहरीभरी दैनिक तीन देखि चार हजार सफारी गुड्ने गरेका छन् । इटहरी चोकमा मात्रै दैनिक ३ सय देखि ४ सय सफारी यात्रुको प्रतीक्षामा घुम्ने गरेको तथ्यांक प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको छ । इटहरी चोकमा ट्राफिक लाइटको प्रभावकारी प्रयोगमा सफारीले अवरोध सृजना गरेको र दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ । 

इटहरीमा बढेको सफारीको भीडको ठुलो हिस्सा इटहरी बाहिर खास गरी सुन्दरहरैंचा, दुहबी र रामधुनी नगरपालिकामा दर्ता भएका सफारीहरूले ओगटेका छन् । इटहरीबाहिरबाट मात्रै दैनिक ५ देखि ६ सय सफारी इटहरीमा गुड्ने गर्छन् ।

हुन त यातायात व्यवस्था कार्यालयमा दर्ता हुँदा सफारीहरूलाई कहाँ कहाँ सञ्चालन गर्ने भनेर रुटको व्यवस्था गरिएको छ । नियम अनुसार यसरी जुन पालिकामा दर्ता भएका हुन् र जुन रुटमा सञ्चालन अनुमति पाएका हुन् त्यही स्थानमा सफारी सञ्चालन गर्नुपर्ने हो । तर त्यसको पालना नहुँदा इटहरी चोकमा सफारी थुप्रिँदै जाँदा समस्या सृजना भएको हो ।

‘इटहरीकै सफारीहरू यात्रु नपाएर बस्नुपरेको अवस्थामा छिमेकी पालिकाका सफारीसमेत आएर मिसिएका छन्,’ एक सफारी चालकले भने, ‘हामी पालिकामा कर तिर्ने अरू कर नतिरी कमाएर जाने । यसले हामीलाई समस्या भइरहेको छ ।’ अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक सङ्घ कोसी प्रदेशका अध्यक्ष कुमार तामाङ सबै सरोकारवालासँगको सहकार्यमा उप महानगरपालिकाले दर्ता प्रक्रिया र टाइम कार्डको व्यवस्था लागू गरेकोले यो सकारात्मक कदम भएको बताउँछन् ।

‘अहिले सहरमा भिडभाड भएको छ, पार्किङको व्यवस्थापन नहुँदा समस्या भएको छ,’ उनले भने, ‘टाइम कार्डको व्यवस्थाले पार्किङ व्यवस्थापन हुनेमा विश्वास छ ।’ नेपाल इ रिक्सा चालक सङ्घका अध्यक्ष ङणिन्द्रप्रसाद तिम्सिनाले इटहरी उप महानगरपालिकाले सुरु गरेको सफारी व्यवस्थापनको प्रक्रिया राम्रो सुरुवात भएको बताए ।  तिम्सिनाले सुन्दरहरैचा र इटहरीका सफारी चालकहरू सङ्घसँग बसेर टाइम कार्ड र दर्ता प्रक्रिया सुरु भएको बताए ।  इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेलले दुवै पालिकाका मेयर सफारी चालक सङ्घ संस्थाका प्रतिनिधि बसेर यो नियम ल्याइएकोले प्रभावकारी हुने बताए । उनले सफारी व्यवस्थापनका लागि यो नियम जरुरी भएकोमा समेत जोड दिए । बिमा नभएका, कागज पत्र नभएका सफारी दुर्घटना हुँदा समस्या भइरहेको छ । सबै कुराको व्यवस्थापन जरुरी भएकाले टाइम कार्ड लागू गरिएको पौडेलले बताए । 

बारम्बारको असफलतापछि टाइमकार्ड

विद्युतीय शक्तिले चल्ने हुदा सफारीको सञ्चालन वातावरणमैत्री हुनाका साथै सस्तो र छरितो हुन्छ । यात्रु बोक्न होस् या सामान बोक्न, सफारीको प्रयोग बढ्दो छ । इटहरीमा विना मापदण्ड र अध्ययन ७० सालतिर भित्रिएका सफारीका कारण सडक व्यवस्थापनमा चुनौती थपिएपछि २०७३ असोजमा ट्राफिक प्रहरीले मुख्य सडकमा सफारी सञ्चालन गर्न नदिने निर्णय ग¥यो ।  सफारी चालकहरुको विरोध र बन्द हड्तालपछि निर्णय फिर्ता भयो । तर सडक अस्तव्यस्त हुन छाडेन, सफारीको संख्या थपिएसँगै झन् बढ्यो । 

त्यसपछि इटहरी उप महानगरपालिकाले रुटको व्यवस्था गर्दै सफारीका लागि पार्किङ स्थल समेत तोक्यो । तर त्यसको पनि विरोध भयो र कार्यान्वयनमा आउन सकेन ।  केही साताअघि बाहिरका सफारीलाई इटहरी प्रवेश निषेध गरियो । तर त्यो निर्णय पनि दुई दिनमै तुहियो । सफारी व्यवस्थापनको लागि प्रभावकारी काम नथाले नगर नै अस्तव्यस्त हुने निश्चित भएपछि इटहरी उपमहानगरपालिकाले टाइमकार्ड प्रयोगमा ल्याएको हो ।  इटहरी उप महानगरले पुस २ गतेबाट टाइम कार्डको व्यवस्था सुरु गरेको छ । यस्तै इटहरी उप महानगरपालिकामा दर्ता प्रक्रियाका लागि समेत सूचना जारी गरेको छ । 

अब इटहरी पस्न अनिवार्य इन्ट्री

नयाँ नियमअनुसार अन्य पालिकामा दर्ता भएका सफारीहरू यात्रु र सामान बोकेर इटहरी आउन पाउँछन् । सिमानामा आएर ती सफारीहरूले इन्ट्री गर्नुपर्छ । इन्ट्री भएको अधिकतम एक घण्टाभित्र आफ्नै पालिकामा फर्कनुपर्ने र यसरी लेखेको समयमा नफर्किए जरिवाना तिर्नुपर्ने हुन्छ ।  एक पटक यात्रु अथवा माल सामान बोकेर आउन पाइन्छ । तर कहाँ पुग्ने हो र कति समयमा फर्कने हो भनेर टिपाउनु पर्ने व्यवस्था भएको सुन्दरहरैँचाका सफारी चालक विष्णु वन बताउँछन् ।

इटहरीका सफारीलाई लाग्दैन टाइमकार्ड

इटहरीमा बसोबास गर्ने व्यक्तिले चलाएका र इटहरीमा दर्ता भएका सफारीहरुलाई भने टाइमकार्ड लाग्दैन । इटहरी नगरभित्रका कतिले सफारी सञ्चालन गर्छन् यसको आधिकारिक तथ्याङ्क राख्न नगरले दर्ता प्रक्रिया सुरु गरेको छ । 

पुस १५ गतेसम्म दर्ता गर्दा सफारी चालकले कुनै पनि शुल्क तिर्न पर्दैन । इटहरीमा सफारी दर्ता गर्न इटहरी उप महानगरमा स्थायी बसोबास गरेको प्रमाण आवश्यकता पर्दछ । ‘इटहरीकै नागरिकता भए भइहाल्यो,’ प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने, ‘इटहरीको नागरिकता नभए बसाई सराइको कागजात आवश्यक पर्दछ, तर इटहरीकै वासिन्दा चाहि हुनुपर्यो ।’

उनले सफारी दर्तापछि उप महानगरले सफारी सञ्चालनका लागि रुटसमेत दिने बताए । यसरी रुट पाएका सफारीले आफ्नो रुटमा सफारी चलाउन पाउने र यसका लागि उपमहानगरले पार्किङ स्थलसमेत उपलब्ध गराउने भएको छ । 

नियमको पालना हुन्छ : ट्राफिक 

इटहरी उप महानगरले सुरु गरेको टाइम कार्ड र सफारी व्यवस्थापनको नियम लागू हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए ।  उनले स्थानीय तहसँगको समन्वयमा लागू भएको नियम कडाइका साथ लागू गरिने बताए । उनका अनुसार कतिपय सफारी चालकसँग लाइसेन्स नभएको, बिमा नगरेको र आवश्यक कागजात नभएको कारण पनि समस्या भइरहेको छ ।  सबैसँगको समन्वय र सहकार्यमा सफारी व्यवस्थापनको काम हुने बताए । 

प्रतिक्रिया

सम्बन्धित