दिवंगत असई थमन पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा

महोत्तरी  /  मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ बर्षपछी जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ ।

सोमबारदेखी सुरु भएको बहसकै क्रममा मृतक विककी पत्नी शोभा  आफ्नो ११ वर्षीय छोरासँगै जिल्ला अदालतमा न्याय पाइने आशा बोकेर मंगलबार दिउँसो उपस्थित भइन् ।

यो वहस निष्कर्षमा नपुगेन्जेल जारी रहने जिल्ला अदालत  महोत्तरीले जनाएको छ ।

यो अवधिमा विक  हत्याका अभियुक्तहरु जनप्रतिनिधि बनेका छन भने २०७९ को निर्वाचनमा पनि हत्याका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी संघीय संसदमा निर्वाचित भए ।

हत्या आरोप लागेका आरोपितहरुलाई अदालतले साधारण तारेखमा छाडेको र  कानुनी छिद्रबाट निर्वाचनमा होमिएकाहरुले कानुनलाई नै चुनौती दिएको देखिएको छ ।

यसैमध्यको घटना हो, लक्ष्मी महतो कोइरी । यसअघि जिल्ला अदालतले कोइरीलाई धरौटीमा छाड्न दिएको आदेशलाई जनकपुर उच्च अदालतले भने उल्टाइदिएको थियो ।

कोइरी सग्लन भएको यथेष्ट प्रमाणहरु भएको बताउँदै उच्च अदालतले २०७७ मा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने कोइरीविरुद्ध आदेश सुनाएको थियो ।

अदालतले समेत फरार सूचीमा राखिरहेको बेला निर्वाचनको मनोनयनको अघिल्लो रात नेकपा एमालेबाट टिकट लिएर मैदानमा उत्रिएका कोइरी निर्वाचित भए । पछि संघीय संसदले फौजदारी अभियोग लागेका जनप्रतिनिधिहरुलाई निलम्बन गरेपछि कोइरी पनि निलम्बनमा परे ।

तर, अदालतको आदेशलाई चुनौती दिँदै थुनामा बसेर अनुसन्धानमा सहयोग गर्नुपर्ने ठाउँमा कोइरी फरार भए । 

विभिन्न कानुनी आधारका बाबजुत पनि आरोपितहरुले खुलेआम चुनौती दिइरहेको बबेला जिल्ला अदालतमा प्रारम्भ भएको बहसलाई आम मानिसले निकै चासोका साथ हेरेका छन् ।

पतिको हत्या हुदा ३ वर्ष रहेका छोरालाई थमन पत्नीले साथ ल्याएर जिल्ला अदालतको शरणमा आइपुगेकी छन्  । जिल्ला अदालतबाट न्याय पाइने झिनो आशा रहेको थमन पत्नी शोभाले बताइन् ।

‘विभिन्न जिल्ला र अदालतमा आशा जगाउने फैसला पनि भएका छन्,’ उनले भनिन्, ‘जिल्ला अदालत महोत्तरीले पनि न्याय दिलाइदिनेमा झिनो आशा छ ।’ 

मधेश आन्दोलनको समय २०७२ सालमा आन्दोलनकारीहरुको झडपका क्रममा घाइते असई विकलाई उपचारको लागि जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर धानबारीमा लखेट्दै निर्ममतापूर्वक हत्या गरिएको थियो ।

तर, उक्त घटनाका मतियारहरुले अहिलेसम्म उन्मुक्ति पाउनु दुःखद् रहेको गुनासो छ । ‘एउटा राष्ट्रसेवक देशको लागि लड्दा–लड्दै मरेको भए मन बुझाउने बाटो हुन्थ्यो । तर, यहाँ त जानीजानी हत्या गरिएको छ,’ शोभाले भनिन् । 

महोत्तरी आउनुभन्दा दुई दिनअगाडि उनी न्याय माग्न संघीय राजधानी काठमाडौंसमेत पुगेकी थिइन् ।

उक्त घटनाका मुख्य योजनाकार भनिएका लक्ष्मी महतो कोइरी पक्राउ पर्न नसकेपछि उनी सरकारलाई दबाब दिन काठमाडौँ पुगेकी थिइन् ।
 

 

प्रतिक्रिया

सम्बन्धित