कांग्रेस झापा पूर्वसभापति शर्माको निधन

झापा । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ। बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपरान्ह ४:३० बजे शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो।कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको थियो।बीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए।

२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत उनले त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका थिए। २०४२ सालमा नेपाली कांग्रेस झापाको सभापति बनेका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा उम्मेदवार भएका थिए। शर्माको मंगलबार बिहान ११ बजे कनकाई माईमा दाहसंस्कार गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित