अम्बे सहकारीका अध्यक्ष फडिन्द्र मगर सहित ५ जना पक्राउ : ५ हजार बचतकर्ताको ४२ करोड बढी रकम अपचलनको आरोप

इटहरी / सुनसरीको इटहरी स्थित अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फडिन्द्र मगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरूको लाखाै रकम अपचलन गरेको अभियोग सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गज्मेर, राहुल अग्रवाल , कुमार आले र एक जनाको नाम गोप्य राखिएको बताइएको छ ।  बचतकर्ताहरूले पटक पटक रकम फिर्ताको माग गर्दै प्रदेश सहकारी रजिस्टार तथा  प्रशिक्षण कार्यालय इनरुवामा दबाब मूलक कार्यक्रमहरू गर्दै आएका थिए ।

बचतकर्ताहरूकै समूहबाट दुर्गाप्रसाद कोइरालाको अध्यक्षतामा सङ्घर्ष समिति नै गठन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गर्दै आएका थिए ।  सो कार्यालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पाँचै जनालाई थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अम्बे सहकारीलाई ५ हजार बढी बचतकर्ताहरूको ४२ करोड बढी रकम अपचलन गरेको आरोप छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित