मैदा, घिउ सहित पानी वितरण गर्ने कम्पनीहरू विरुद्ध मुद्दा दायर

धरान । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको ठहर सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले इटहरीको विभिन्न खाद्य उद्योगहरू विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको छ । कार्यालयले इटहरीको विभिन्न स्थानमा सञ्चालन हुँदै आएका खाद्य तथा पानी उद्योग विरुद्ध मुद्दा दायर गरेको हो । जसमा  गोर्खा प्याकेजिङ उद्योग,   हिमधारा कम्पनी प्रालि, तरहरास्थित दिव्येश्वरी जल उद्योग , सोनापुरस्थित पशुपति खाद्य उद्योग रहेका छन् ।  

उल्लेखित उद्योगहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले सुनसरीले बेग्ला बेग्लै मितिमा अनुगमन गरेको थियो । अनुगमनमा सो उद्योगहरूले उपभोक्ताको स्वास्थ्य माथि गम्भीर खेलवा गरेको भेटिएपछि कार्यालयले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । अनुसन्धान सकिए लगत्तै ५ वटै उद्योग विरुद्ध बेग्ला बेग्लै मितिमा जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरी कि सूचना अधिकारी   बादल चेम्जोङले जानकारी दिइन ।    

चेम्जाेङका अनुसार इटहरीस्थित गोर्खा प्याकेजिङ उद्योगले प्याकेजिङ गरेको मैदामा लेबल नभएको र नाप जाँच गर्न ल्याबमा पठाउँदा मापदण्ड विपरीत देखिएपछि सो उद्योग विरुद्ध गत असोज १० गते मुद्दा दर्ता भएको हो । त्यस्तै     इटहरीको हिमधारा कम्पनी विरुद्ध असोज १४ गते २ वटा मुद्दा दायर भएको बताइएकाे छ । कम्पनीले उत्पादन गरेको उपहार ब्रान्डको पिउने पानीको बोतल भित्रै कालो पदार्थ भेटिएको थियो । यस्तै, अर्को बोतलमा काठको टुक्रा भेटिएको थियो । नमुना परीक्षणबाट दुषित खाद्य पदार्थको रिपोर्ट  आएपछि कार्यालयले असोज १४ गते हिमधाराविरुद्ध मुद्दा दायर गरेको थियो । यसै गरी, पानीको बोतलभित्र किरा भेटिएपछि इटहरी तरहरास्थित दिव्येश्वरी जल उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ ।

बल्ल ब्रान्डको पानीको बोतलभित्र किरा भेटिएको र उक्त पानीको नमुना ल्याबमा परीक्षण गर्दा कोलिफर्म रहेको पुष्टि भएपछि असोज २३ गते मुद्दा दायर गरिएको हो।   नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी एसिड भेल्यु वनस्पति घिउमा मिसाएको पाइएपछि सुनसरीको सोनापुरस्थित पशुपति खाद्य उद्योगविरुद्ध पनि खाद्यले मुद्दा दायर गरेको छ । उक्त उद्योगविरुद्ध न्युस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गरेको अभियोगमा खाद्य कार्यालयले असोज १७ गते जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो ।  

मुद्दा दायर भएका पाँच उद्योगहरूलाई खाद्य ऐन २०२३ को दफा ३ बमोजिम कसुरमा दफा ५(१) बमोजिम ५ वर्षसम्म वा पचास हजारसम्म जरिवाना वा दुवै सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको  सूचना अधिकारी चेम्जोङले जानकारी दिइन् । ‘न्युन स्तर र दुषितस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री बितरण, निकासी वा पैठारी गर्न कानुनले रोक लगाएको छ । त्यस विपरीत कसुर गरेमा ५ वर्ष जेल वा ५० हजार जरिवाना वा दुवैको सजाय हुने व्यवस्था अनुरूप नै माग दाबी गरेर मुद्दा दायर गरिएको छ,’उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित