पाँचथरको याङवरक गाँउपालिकाकाे हाकिमले ढोका थुनेर कर्मचारी कुटेपछि...

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाका प्रशासकीय अधिकृतले कार्यालय सहयोगीलाई कुटपिट गरेको घटना ढाकछोप गर्न गाउँपालिका नै लागि परेको पाइएको छ । मोबाइलमा म्यासेज आएको विषयलाई लिएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुबेदीलाई आइतबार निर्घात कुटपिट गरेका थिए । म्यासेजको विषयलाई लिएर सामान्य भनाभन हुँदा पालिकाको क्यावटरमा ढोका थुनेर अधिकृत लिङ्देनले सुबेदीलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट सुवेदीको आँखा छेउमा गहिरो चोट परेको छ भने मुक्का प्रहारबाट अनुहार सुनिएको छ । घटनालाई लिएर पालिकाका अध्यक्ष भीम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङ्बोले एक विज्ञप्ति जारी गर्दै सामान्य रूपमा लिन अनुरोध नै गरेका छन् । दुई कर्मचारीबिच सामान्य विवाद भएको विषयलाई अतिरञ्जित गर्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘गम्भीर कुटपिट नभएको र दुई पक्षबिच सहमति भइसकेकाले टिका टिप्पणी गरी सिङ्गो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका विषयमा प्रश्न खडा नगरिदिन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यता स्थानीयले भने घटनालाई गाउँपालिकाले लुकाउन खोजेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित