शोर्य सिमेन्टका कारण एक वर्षमा सक्ने ठेक्का पाएको पुल चार वर्षमा बनेन

सिरहा  / गुणस्तरीयहीन निर्माण सामग्री प्रयोगका कारण पुल निर्माण अलपत्र भएपछि भँगहावासीको पुलमाथिबाट हिड्ने सपना अझै पूरा हुन सकेको छैन । आर्थिक वर्ष ०७६÷७७ ठेक्का पाएको कम्पनीले एक वर्षमा निर्माणसक्ने गरी रातु नदीअन्तर्गत भँगहा नगरपालिका ६ मेघनाथ गोरहना–हात्तिसर्वा सडकको पुल निर्माणमा कमसल सामग्री प्रयोग गरेका कारण निर्माण अलपत्र परेपछि स्थानीय निराश भएका हुन् । 

एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी पुल निर्माणको जिम्मा लिएको विकास एण्ड ब्रदर्श÷रामजानकी जेभीले निर्माणको चार वर्ष पुगिसक्दा पनि अझै निर्माण सम्पन्न गरेको छैन । गुणस्तरीयहीन सामग्री प्रयोगका कारण पुल निर्माण सम्पन्नमा ढिलाइ भइरहेको स्थानीय बताउँछन् । 

निर्माण सामाग्री कमसल भएकाले काम रोकिएको आफूले जानकारी पाएको भँगहा–६  का ५५ वर्षीय रामपुजन सिंहले जानकारी दिए । उनले भने, ‘पुल निर्माणकार्य सुरु भएको वर्षौं बितिसक्दा पनि काम किन सम्पन्न नभएको भनि साईड इन्जिनियरलाई सोध्दा उहाँले पुल निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएकाले निर्माण रोकिएको बताएका थिए ।’ 

स्थानीय पुर्नी सिंहले निर्माणकार्यमा आवश्यकअनुसार छड र सिमेन्ट प्रयोग नगर्दा ढिलाइ भएको बताए ।  उनले प्रश्न गर्दै भने, ‘पुल निर्माणमा पातलो छड र कमसल खालका सिमेन्ट प्रयोग भएको छ। सानो ढुङ्गाले हान्दा पनि पुलको पिलर भत्किन्छ । यस्तो पुलले कसरी गाडीको भार थाम्ला ?’

पुल निर्माण नहुँदा पानी पर्दा पनि वारिपारीको खेत जान र पालिकाको कार्यालय पुग्नसमेत समस्या हुने गरेको स्थानीय चेतनारायण कुमर दनुवारले बताए । उनले २०७६ मंसिरमा शिलन्यास भए पनि अझै पुल निर्माण सम्पन्न हुने छाँट नदेखिएको बताए। उनले पनि निर्माण सामाग्री कमसल प्रयोग नभएको दाबी गरे । 

यस पुलको निर्माण विकास एण्ड ब्रदर्श/रामजानकी जेभीले निर्माण गरिरहेको पुलका साइड इन्जिनियर वीरेन्द्र साहसँग बुझ्दा उनले पुल निर्माण गर्दा कम्प्रेसिभ स्टेन्थ पुरा नभएको जानकारी दिए। पुलको स्ल्याब ढलानमा एम२० हुनुपर्नेमा कम रहेको पाइएकोे बताए ।

 

इन्जिनियर साहले भने, ‘हामीले २०७९ साउन ७ गते एम२० ग्रेड कङ्क्रिटबाट टप स्ल्याब कास्टिङ्ग भएको स्ल्याब कोर कटिङ्ग गराई निकालिएको सिलिण्डर स्याम्पल सेन्ट्रल मेटेरियल टेष्टिङ्ग ल्यावोरेटरीमा परीक्षण गराउँदा कंक्रिट जति परिमाणको हुनुपर्ने कम्प्रेसिभ स्टे«न्थ त्यति पूरा नभएको पाइयो ।’


टप स्ल्याव कास्टिङ्ग भएको ६ वटा स्ल्याव कोर कटिङ्ग टेष्ट गर्दा कुनैमा  एम११, एम१३, एम१५, मात्र पुगेको इन्जिनियर साहले बताए । पुल निर्माणको सम्झौता १५ कात्तिक २०७६ मा करिब एक करोड ९९ लाख १६ हजार ५८२ रुपैयाँको लागतमा निर्माणकार्यको सम्झौता भए पनि अहिलेसम्म करिब २० प्रतिशतकाम मात्र भएको इन्जिनियर साहले जानकारी दिए । 

 

पुल निमार्णमा समस्या देखिएपछि पूर्वाधार विकास कार्यालय जकनकपुरले निर्माणकार्य जिम्मा लिएका कम्पनी विकास एण्ड ब्रदर्श÷रामजानकी जेभीलाई पुनः निर्माणको मेथोलोजीसहित उपस्थित हुन १२ फागुन २०७९ मा पत्र लेखेको छ । तर, निर्माण कम्नीले अझै मेथोलोजी पेस गरेको छैन ।

 

निर्माण कम्पनीले भने आफूले सबै गुणस्तरीय सामान नै प्रयोग गरेको दाबी गरेको छ । कम्पनीका प्रोपराइटर दिवाकर साहले सबै निर्माण सामाग्री गुणस्तरीय नै प्रयोग गरेको दाबी गरे ।  आरएमसी मसला प्रयोग भएकाले त्यसको जिम्मा उनले नै लिएको बताए। 

 

‘हामीले लिइरहेको आरएमसीले शौर्य सिमेन्ट प्रयोग गरेको भन्ने सुनेको छु,’ उनले भने, ‘हामीले आरएमसी कम्पनीलाई पहिले नै भनेको थिएँ, राम्रो सिमेन्ट प्रयेग गर्नु नभए गुणस्तरीयतामा कुनै कम्लेन आयो भने जिम्मा तपाईंले नै लिनुपर्ने छ भनेर । हामीसँग भ्याटबिल छ । हामीले आरएमसी कम्पनीलाई जानकारी गराई सकेका छौँ । हाम्रो आन्तरिक सम्झौता पनि भइसकेको छ । आरएमसीले त्रुटि गरेकै हो । सिमेन्टको मात्रा पुगेन, खराब सिमेन्ट प्रयोग भएको स्वीकारी सकेको र आन्तरिक सहमति पनि भएको छ ।’


कतिपय निर्माण कार्य शौर्य सिमेन्टको कारण अलपत्र अवस्थामा छन् । 
 

प्रतिक्रिया

सम्बन्धित