दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्ने समझदारी

काठमाडौं । नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष रामदीप शाहले हस्ताक्षर गरेका छन् । खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक आपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठी, अनुभव आदान–प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।

हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश साह लगायत दुई वटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । हालसम्म करिब ८ सय वटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको को बनाउने गरी वाटरमार्क सफ्टवेयर बनाइरहेको बताएको छ ।

करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्लु (पानी चुवाहट विश्लेषण) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लिकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ ।

यसैगरी स्मार्ट वास सोलुसनले विगत ५ वर्षदेखि खानेपानी तथा सरसफाई क्षेत्रमा रहेका समस्याहरूलाई न्यूनिकरण गर्न तथा सुशासनमा सुधार गर्न आवश्यक नँया प्रविधिहरूको विकास, केन्द्र तथा प्रदेशमा खानेपानी तथा सरसफाई क्षेत्रमा नीतिगत तथा कानूनमा सुधार गर्न बहस तथा पैरवी गर्ने, सरोकारवाला निकायहरूको क्षमता अभिबृद्धि गर्ने, लगायतका क्रियाकलापहरू संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित