सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर ढकाल बेपत्ता

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर - १ स्थित हलगडामा तीन वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएका एक व्यक्तिले सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर बेपत्ता भएका छन् ।

मोरङको विराटचोक घर भएका दर्शन ढकालले २४ जनाभन्दा बढीकाे रकम लिएर फरार भएका छन् । ढकालले दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।

ढकालले विमला श्रेष्ठको ४ लाख, दुर्गाप्रसाद बोगटीको २ लाख, सीता पोखरेलको १ लाख, पर्शुराम बस्नेतको ३ लाख, फूलकुमारी सुबेदीको २ लाख २२ हजार, शिव लिम्बुको २ लाख तथा अन्य दर्जनभन्दा बढी सर्वसाधारणको पैसा लिएर फरार भएको पीडितले बताएका छन् ।

आइतबार सबै पीडितहरुको अभिलेखीकरण गरेर इलाका प्रहरी कार्यालयमा ठगीविरुद्ध उजुरी दिइने पीडितहरूले बताएका छन् ।

यता यसबारे प्रतिक्रिया लिन खोज्दा ढकालले बोक्ने गरेका ५ वटाभन्दा बढी मोबाइल नम्बरमा फोन लागेन । ढकालले ३ वर्ष अघिदेखि राज न्यौपानेको घरको सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएका पीडितहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित