ड्युटीमा खटिएका प्रहरीमाथि बञ्चरो प्रहार

सुन्नुहोस्

झापा /  झापाकाे शिवसताक्षी झरनापुल नजिकै  ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बिहीवार साँझ बञ्चरो प्रहार भएको छ ।

कटुवाललाई बिहीबार साँझ ७ बजे एक युवकले बञ्चरो प्रहार गरी घाइते बनाएका हुन्। शिवसताक्षी–९ झरनापुल नजिकै प्रहरी निरीक्षक कटुवालमाथि आक्रमण भएको हो ।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए।

तीन जना युवक सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवकले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार  प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा चोट लागेको छ । बिर्तामोडको बी एण्ड सी अस्पतालमा उनको उपचार भइरहेको छ। प्रहरीले आक्रमणमा संलग्नसहित तीनै युवकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित