अशक्तहरूकाे घर घर पुगेर भत्ता कार्ड नवीकरण गर्दै इटहरी ६ नं वडा कार्यालय

सुन्नुहोस्

 इटहरी । समय पुगेर पनि भत्ता कार्ड नवीकरण गर्न नसकेका अशक्त एवम् अपाङ्गहरूको घर घर पुगेर इटहरी उपमहानगर अन्तरगत ६ नं वडा कार्यालयले निःशुल्क नवीकरण गरिदिएको छ ।

वडा कार्यालयका वडाध्यक्ष दिवस पोख्रेल , वडा सचिव प्राेक्षण पोख्रेल लगायतको टिमले वडा क्षेत्रमा रहेका करिब २ दर्जन बढी अशक्त ,अपाङ्गता भएका ब्याक्तीहरूकाे भत्ता कार्ड नवीकरण गरिएको हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न थप सहज होस भन्ने उद्देश्यले वडा कार्यालयको सिङ्गो टिम अशक्तहरूको घर घर पुगेर उक्त कार्ड नवीकरण गरिदिएको हो । 

अन्य वर्षहरूमा सकी नसकी वडा कार्यालय पुगेर घण्टाै लाइनमा बसेपछि मात्र नवीकरण हुने कार्ड वडाध्यक्ष आफै घर घर पुगेर सेवा दिन थालेपछि अशक्त सेवाग्राहीहरू खुसी देखिएका थिए । इटहरी उपमहानगर ६ कि १०३ वर्षीय ज्येष्ठ नागरिक राधा बस्नेतको परिवार वडाध्यक्ष दिवस पोख्रेललाई भोट दिएको सदुपयोग भएको बताउनुहुन्छ ।

१०३ वर्षीय बस्नेत आफै वडा कार्यालय सम्म पुग्न सक्ने अवस्था थिएन परिवारलाई दैनिक कामकाजको चटारोले भत्ता कार्ड समयमै नवीकरण नहुने हो कि भन्ने पिरले सताएको थियो तर वडाध्यक्ष सहितको टोलीले घरमै आएर कार्डको नवीकरण गरिदिएपछि सबै पिर दुर भएको परिवार बताउँछन् । 

त्यस्तै इटहरी उपमहानगर ६ की अशक्त बालिका प्राप्ति खडका सकी नसकी भए पनि उपमहानगर सम्म पुगेर कार्ड नवीकरण गर्न सोचमा थिइन । उनको सोच भुईँमा झर्न नपाउँदै अागनमै वडाध्यक्ष सहितको टोली सेवा लिएर टुप्लुक्क आइपुगेपछि उनी पनि केही समय खुसी भएकी थिइन ।

वडा कार्यालयले अहिले अशक्त तथा अपाङ्गहरूको घर घर पुगेर उनीहरूले पाउने सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिदिने अभियान चलाएको छ । सोही अभियान अन्तरगत आइतबार र सोमबार गरेर करिब २ दर्जन बढी अशक्त तथा अपाङ्गहरूको घर घर पुगेर सेवा प्रदान गरिएको वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । यो अभियान सधैँ जारी रहने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित