कोशीमा डेंगुबाट ९ जनाको मृत्यु, १२ जिल्ला प्रभावित

धनकुटा / लामखुट्टेबाट सर्ने डेंगु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन्। कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेंगु लागेको छ।

एक महिनाको अन्तरालमा डेंगुबाट ९ जनाको मृत्यु भएको छ। ​मृतक सबै सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिए। सबैभन्दा धेरै तराईका जिल्ला प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन्। सुनसरीमा हालसम्म चार हजार ७४१ जना सङ्क्रमित भएका छन्।

त्यस्तै मोरङमा एक हजार १७१ जना संक्रमित भएका छन्। दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिए।दुई जिल्लापछि झापामा ५२८ जना संक्रमितछन्। तराईसँग जोडिएका जिल्लामा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित छन्। उदयपुरमा १८३ र धनकुटामा १३७ जनालाई डेंगु लागेको छ। त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेंगु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ।सोलुखुम्बु र ओखलढुङ्गामा भने हालसम्म रोग देखा नपरेको निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित