हसिना सिमसारमा डुबेर इटहरीका बालकको मृत्यु

इटहरी / सुनसरीको इटहरी घर भएका एक बालकको मोरङको सुन्दरहरैँचास्थित हसिना सिमसारमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको मृत्यु भएको हो । आचार्यलाई सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिया सिमसारमा डुबेको अवस्थामा मृत फेला पारिएको थियो ।

साथीहरुसँग सिमसार घुम्न गएका आचार्य दिउँसो ३ः१५ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेको प्रहरीले जनाएको छ । उनी पौडी खेल्न जान्दैन थिए । पौडी खेल्ने क्रममा दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार किशोरसँगै घुम्न गएका अरु साथीहरु भने सकुशल छन् ।

प्रहरीले शवलाई दहबाट बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित