डेब्यु फिल्मबाटै मन जितेकी प्रमिला

काठमाडौँ / नेपाली चलचित्र ‘बगान’ चौथो सातामा प्रदर्शनरत् छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण चौथो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् ।

दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नवअभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् । नवअभिनेत्री प्रमिलाको कामको तारिफ दर्शकसँगै सेलिब्रेटीले समेत गरेका छन् । प्रिमियरसँगै आयोजित अन्य सोमा चलचित्र हेर्न पुगेका सेलेब्सले प्रमिलाको आत्मविश्वास र कामको प्रसंशा गरेका थिए । 


 विशेष प्रदर्शनी हेरेपछि हास्यकलाकार किरण केसीले प्रमिलाले पात्र बाँचेको प्रतिक्रिया दिएका थिए । प्राप्त प्रतिक्रियाले उनि उत्साहित छिन् । दर्शकको माया र अग्रजको आशिर्वादले मेहनत सफल भएको आभाष उनलाई भएको छ । 

‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनयसम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरेँ । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता वढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’

फिल्ममा उनले प्राप्तिको भूमिका निर्वाह गरेकी छिन् । जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने, जस्तो स्वभाव प्राप्तिमा छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुस गरेकी छु,’ प्रमिलाले भनिन्, ‘म ठूलो पर्दामा देखिएको भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ 

उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाइरहेकी थिइन् । सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केही असहज जस्तो महसुस भए पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ । 

‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् । म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनी आफ्नो पात्रमार्फत् युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउँछिन् ।

चौथो सातामा प्रवेश गरेको चलचित्र प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए ।  ‘बगानले दर्शक तान्दा हामी मात्र नभई सम्पूर्ण उद्योग नै खुसी छ । किनकि नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’

 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेका चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित