डेंगु सङ्क्रमण बढेपछि धरानमा विद्यालय बन्द

इटहरी । डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणकाे प्रयास स्वरूप धरान उपमहानगरपालिकाले विद्यालयहरू बन्द गरेको छ । मङ्गलवार कार्यपालिका बैठकबाट डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोल टोलमा खटिन अनुरोध गरेको छ ।

डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण नहुने देखिएकाले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए ।

प्रतिक्रिया

सम्बन्धित