सर्दु जलाधार विवाद, अदालतको निणर्यलाइ सम्मान गर्छुः हर्क साम्पाङ

धरान / मेयर हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । धरान -४ छोटी मोरङस्थित पुर्व वडाध्यक्ष रोशन अधिकारीको श्रीमती रोजिनाको नाममा रहेको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले बिहीबार अन्तरिम आदेश दिएको थियो । उक्त आदेश पछि मेयर साम्पाङले बिहीबार राती प्रतिक्रिया दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,–‘अदालतलाई सम्मान गर्छु ।’

उनको यो प्रतिक्रियासँगै आउँदो शनिवार छोटी मोरङ डाँडामा हुने वृहत् वृक्षारोपण कार्यक्रम रोकिने अनुमान गरिएको छ । यसअघि भने उनले शनिवार हजारौँ जनता उतार्ने भन्दै वृक्षारोपणमा आउन आह्वान गरेका थिए । जग्गाधनी तथा वडा नं १ का पुर्वअध्यक्ष रोशन अधिकारीले आफ्नो जग्गामा जर्बजस्ती बिरुवा रोप्न आए प्रतिवाद गर्ने चेतावनी सामाजिक संजाल मार्फत दिएका थिए ।

बिहीबार नै छोटी मोरङ जग्गा पीडित सङ्घर्ष समितिले पनि पत्रकार सम्मेलन गर्दै शनिवार मेयर साम्पाङ र उनका समर्थकहरू बिरुवा रोप्न आए प्रतिकार गर्ने चेतावनी दिएका थिए । मेयर जसरी पनि बिरुवा रोप्न जाने र स्थानीय जग्गाधनीहरू प्रतिवादमा उत्रने भएपछि शनिवार भिडन्त हुने खतरा बढेको भन्दै धरानवासीहरू चिन्तित थिए ।

तर, उच्च अदालत विराटनगरले व्यक्तिको नाममा दर्ता भएको जग्गा धनीपुर्जाबाट देखिएकोले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म वृक्षारोपण गर्न, नगराउन अन्तरिम आदेश जारी गरेको थियो । यो आदेश पछि मेयर साम्पाङले अदालतलाई सम्मान गर्ने प्रतिक्रिया दिएसँगै शनिवारको भिडन्त हुने खतरा टरेको छ ।

प्रतिक्रिया

सम्बन्धित