दमकमा कुकुर पाल्न नगरपालिकामा दर्ता

झापा । दमक नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।

नगरपालिकाको १३ औँ नगरसभाले घरपालुवा कुकर पालन व्यवसायलाई थप व्यवस्थित गर्न अनिवार्य रूपमा कुकुर सूचीकृत गर्ने निर्णय गरेको नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिइन ।उनका अनुसार अव कार्यविधि बनाएर कुकुर दर्ता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिने कार्यमा सहज हुने नगर उप प्रमुख भट्टराईले बताइन ।

नगरपालिकाले पशु सेवा शाखाको समन्वयमा दमकमा १० वटै वडा तहमा घरपालुवा कुकुरको दर्ता गर्ने व्यवस्था गरिने पशु सेवाका शाखाका अधिकृत गणेशबहादुर प्रधानले बताए ।उनले घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि तयार गरी यस कार्यक्रमलाई कार्यान्वयन गरिने बताए । यस कार्यक्रमले कुकुर पालन थप व्यवस्थित हुने उनको भनाई छ ।

उनका अनुसार घरपालुवा कुकुर सूचीकृत गरिएसँगै कुकुरको सङ्ख्या, जात, रेबिज खोप, औषधी र कुकुर मरे त्यसको व्यवस्थापन गर्न सघाउ पुर्‍याउने छ ।दमकमा ठुलो सङ्ख्यामा घरपालुवा कुकुर कुकुर पालिँदै आएको अनुमान छ । त्यस्तै, सामुदायिक कुकुरको झनै समस्याका रूपमा रहँदै आएको छ । झापाको १५ वटा स्थानीय तह मध्ये दमकले पहिलो पटक घरपालुवा कुकुरको सूचीकृत कार्य अघि बढाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित