महोत्तरीको रातु नदी डम्पिङ साइटमा परिणत हुँदै

महोत्तरी / नदी संरक्षण र सभ्यताको कुरा उठिरहेका बेला महोत्तरीको रातु नदी कुरुप देखिँदै गएको छ । जिल्लाका सम्बन्धित् नगरहरुले यस विषयमा ध्यान दिन नसक्दा मानवीय क्रियाकलापकै कारण नदी कुरुप बन्दै गएको हो । जिल्लाकै सबैभन्दा गौरव मानिएको नदीको अस्तित्वको विषयलाई लिएर चुरे अभियन्ताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

जिल्लाको उत्तरवर्ती क्षेत्रका  कतिपय गाउँहरुमा नदी अतिक्रमण गरेर संरचनाहरु बनाइएका छन् भने सहरी क्षेत्रमा फोहोर फ्याक्ने डम्पिङ साइड बनाइएको छ । विशेषगरि बर्दिबास नगरपालिका र यसको वरपर फोहोर फ्याँक्ने स्थल नै रातु नदीलाई बनाइएको देखिएको छ । ‘वन जंगलमा घाँसपातका लागि जाँदा पनि नदीमा फ्याँकिएका वस्तुहरुको दुर्गन्धले सा¥है गा¥हो हुन्छ,’ बर्दिबासका स्थानीय होमबहादुर मोक्तान बताउँछन् । 

रातु नदी आफँैमा मानव सभ्यताको पहिचान मात्र हैन रातु ठाकुर देवताको धार्मिक महत्व समेत बोकेको छ । रातु नदीमा गएर परेवा पूजा र पूजापाठ गर्नाले कहिल्यै रोग  नलाग्ने धार्मिक विश्वास रहेको पाइन्छ । कहिले दोहन, कहिले अतिक्रमण त कहिले फोहोर फ्याँक्ने डम्पिङ साइड बनाइरहेको आरोप खेपिरहेको बर्दिबास नगरपालिकाले  सहरी क्षेत्रमा फोहोर उठाउन ठेक्का लगाएको छ । फोहोरकै विषयलाई लिएर स्थानीयहरुबाट चर्को विरोध भएपछि अघिल्लो स्थानीय सरकारले फोहोर प्रशोधन गरेर मोहरमा रुपान्तरण गर्ने  योजना नै बनाएको थियो  ।

त्यतिबेला फोहोरलाई मोहर बनाउने योजना नीति तथा कार्यक्रममा नै समावेश गरे पनि पूर्णतः असफल नै बन्यो । अहिले पनि सोही नीति तथा कार्यक्रम पुनरावृत्ति भएको छ । तर, फेरि पनि काम हुनेमा सर्वसाधारण ढुक्क छैनन् ।औरही, रामगोपालपुर, बल्वा, पिपराजस्ता ठाउँहरुमा अनियन्त्रित दोहनले पनि रातुले धार मात्र परिवर्तन गरेको छैन, पहिलेको रातु र अहिलेको रातुमा आकाशपताल फरक रहेको स्थानीयहरु बताउछन् ।

रातु सभ्यतालाई बचाइराख्नुपर्छ भन्ने उद्देश्यले अहिले जिल्लामा नदी प्रणाली संरक्षण समिति गठन भएको छ । समिति अध्यक्ष निरज अधिकारी भन्छन्, ‘स्थानीय सरकारहरु विशेषगरि नदी संरक्षण र सभ्यताको संरक्षणको लागि स्थानीय सरकार नै चनाखो हुनुपर्ने हो । नदी सभ्यता मात्र हैन यहाँ नदीजन्य पदार्थ पनि जोगाउनु हाम्रो कर्तव्य हो ।’ नदीजन्य पदार्थको दोहनले पानीका सतह समेत गहिरिँदै गएको छ । जसको कारण इनार र बोरिङहरु सुक्दै गएर पानीको अभाव सिर्जना भएको छ ।

नदीजन्य पदार्थको दोहनकै कारण तटीय क्षेत्रका मानिसहरु घरवारविहीन समेत बनेका छन् । अघिल्लो वर्ष मात्र रातु नदीको अनियन्त्रित वहावले जलेश्वरस्थित रमैल तथा बजराही, मनरासिश्वाका केही ठाउँ, मटिहानीको सिमरदही, बहुअर्वा, पासमान टोलजस्ता ठाउँहरु डुबानको चपेटामा परेका थिए भने बर्सेनि हजारौ मानिसहरु प्रताडित बन्दै आएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित