इटहरीमा छात्रवृत्ति विवरण नबुझाउनेलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय

इटहरी /  इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको छ । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो ।

शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो । जसमा छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ्् स्कुल, वडा नं. ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं. १४ को सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं. ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन् ।

यस्तै, आधारभूत तहकै वडा नं. २० को इन्द्रेणी स्कुल, वडा नं. १० मा सञ्चालित इटहरी नमुना स्कुल, वडा नं. १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं. १६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ ।

यस्तै, माध्यमिक विद्यालयतर्फ वडा नं. १७ मा सञ्चालित गोल्डेन फ्यूचर इङ्लिस बोडिङ् स्कुल, वडा नं. ६ को इटहरी चिल्ड्रेन स्कुल, वडा नं. ४ को इटहरी मोडल सेकेण्डरी स्कुल, वडा नं. ६ को ह्वाइट सोल एकेडेमी र इटहरी वडा नं. २ को लिटिल केयर बोडिङ् स्कुललाई एक लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको जानकारी दिइयो ।

नगरप्रमुख हेमकर्ण पौडेलले छात्रवृत्ति दिन चाँसो नदिने विद्यालयलाई सात दिनभित्रमा जरिवाना तिर्न पत्राचार गर्ने निर्णय भएको बताए । उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ । निजी विद्यालयलाई उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउन सूचना जारी गरेर असार २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित