बाढीले हेवाखोलाको पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव

ताप्लेजुङ / पाँचथरको हेवाखोलामा बेल ब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढी पहिराले हेवाखोलामा रहेको मोटरे बल पुल बगाएपछि अहिलेसम्म बेल ब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।

यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवाखोलामा रहेको मोटरे बल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो । हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरू प्रभावित बनेका हुन् । ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ ।

चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ । सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन् । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताए । ग्यासको अभावमा फुङ्लिङ बजारका होटेल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटेलले आफ्नो सेवा प्रवाह नै बन्द गरेका छन् । होटेल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवाखोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरे बल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन (घिर्नी) मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ ।

मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए । अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवाखोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा चार सय ७० जति ग्यास सिलिन्डर भित्रिए पनि त्यो अपर्याप्त भएको छ । ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उनले बताए ।

उनले खाद्यान्न लगायतका सामग्रीका लागि भने सामान्य अवस्था रहेको बताए । डाइभर्सनमार्फत नै बीचमा केही खाद्यान्न सामग्री आयात गर्न सम्भव भएपछि ग्यास जस्तो चरम अभावको स्थिति नरहेको उनको भनाइ छ । हाल हेवा खोलाको निर्माणाधीन अवस्थामा रहेको बेबिब्रिजको काम सम्पन्न भएर राजमार्ग खुल्ने बित्तिकै ग्यासलगायत सबै वस्तु आपूर्ति हुने र अभावको अन्त्य हुने थापाले बताए । हेवाखोलाको मोटरे बल पुल र सोही खोलामा रहेको तमोर कोरिडोरको पुल बाढीले बगाएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकासहित सिङ्गो ताप्लेजुङ जिल्ला प्रभावित बनेको हो ।

मेची राजमार्ग खुलाउन सुरु गरिएको बेल ब्रिजको काम झन्डै महिना दिन बित्न लाग्दासमेत सम्पन्न नहुँदा यातायात सुविधाका कारण सङ्कटपूर्ण स्थिति सिर्जना भएको बताइएको छ । हेवाखोलामा ह्युम पाइप लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पानीको बहाव र बाढीको क्रम नरोकिएपछि सडक खुलाएको केही घण्टामै अवरुद्ध हुने गरेको छ । ग्यास, खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु झापाको बिर्तामोड हुँदै आपूर्ति गर्ने गरिन्छ । त्यस्तै राजमार्ग अवरुद्धका कारण यहाँबाट निर्यातजन्य वस्तु पनि निर्यात भएका छैनन् । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा यातायात सञ्चालन गर्नसमेत समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित