सुन्दरहरैँचामा मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु

मोरङ / मोरङको सुन्दरहरैँचामा दुर्घटना भएर मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु भएको छ । घटना बिहीबार राति १०ः३० बजेतिरको हो । भित्री सडकखण्ड भएर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ९०१८ नम्बरको मोटरसाइकल सुन्दरहरैँचा नगरपालिका–१ डाँगी टोलमा दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालक सुन्दरहरैँचा–१ डाँगी टोलका अन्दाजी २४ वर्षीय नवीन चौधरीको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पैनीमा खसेको थियो । चौधरीलाई पैनीको पानीमा डुबिरहेको अवस्थामा मृत फेला पारिएको र मोटरसाइकल पनि पैनीमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित