खाेटाङ मझुवागढीमा नयाँ नियम : शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिवार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ) लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ–सङ्गठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ ।

नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलन समेत फिर्ता भएको शिक्षकले बताएका छन् । छलफलमा नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा नं १ का वडाध्यक्ष नवराज राई, वडा नं ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरे, शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मा, नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक महासङ्घ खोटाङका सहअध्यक्ष झमप्रसाद आचार्य, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक सङ्घ नगर अध्यक्ष नवराज केसी, प्राविधिक सहायक प्रेम केसी र शिक्षक सुवासचन्द्र राईको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित