कालीगढ पेशाको संरक्षण गर्दै पौवादुङमा स्थानीय सरकार

भोजपुर / पराम्परागत खुकुरी बनाउने पेशा संकटमा परेपछि पौवादुङमा गाउँपालिकाले संरक्षण थालेको छ । आवश्यक औजार उपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेसँगै पेशा संकटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो । 

दिनानुदिन पेशा छाड्नेको सङख्या बढ्न थालेपछि उनीहरुलाई आवश्यक सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । लोपोउन्मुख पेशाको संरक्षणमा जुटेको उनको भनाइ छ । ‘पछिल्लो समय कालीगढहरु पलायन हुँदै गएको अवस्था छ’ अध्यक्ष राईले भने,‘अहिले गाउँघरमा व्यवसायिक रुपमा यो पेशा गर्ने मान्छे पाउन नै मुस्किल छ । औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनु पर्ने अवस्था छ ।  यो पेशा व्यवसायमा लागेकाहरुको तथ्याङ्क संकलन गरेर आवश्यक सहयोग गर्दै आएको छौँ ।’

खुकुरीले नाम कमाएको जिल्लामा कालिगढ पेशा संकटमा पर्दै गएकाले यसको संरक्षणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष राईको भनाइ छ ।‘जिल्लाभर नै कालीगढ पेशा छोड्ने संख्या बढ्दो छ’अध्यक्ष राईले भने,‘ यो पेशाको संरक्षण आवश्यक ठानेर अहिले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

पेशा छोड्ने संख्या बढेसँगै गाउँघरमा औजार उपकरणको अभाव हुन थालेपछि वडाका नागरिकलाई आवश्यक सहयोग गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । पेशामा लागेकाहरुलाई प्रोत्साहन गर्दै आधुनिक उपकरण प्रयोगमा जोड दिएको उहाँको भनाइ छ । यो पेशामा लागेका दुई परिवारलाई पौवादुङमा १ श्यामशिलाले आवश्यक सहयोग गरेको उनले जानकारी दिए ।‘पराम्परात रुपमा काम गर्दा उहाँहरुलाई धेरै कठिन छ’ वडाध्यक्ष तामाङले भने,‘विद्युतिय औजार उपकरणको प्रयोग गर्दा केहि सहज हुने देखेर आवश्यक सहयोग गरेका हौँ ।’

खुकुरी बनाउने आरन सञ्चालकहरुलाई रु. ८० हजार बराबर आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । पराम्परागत पेशा संरक्षणको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ । 

सामग्री निर्माणको लागि आवश्यक पर्ने कच्चा पदार्थसँगै सामुदायिक वनबाट सहज रुपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको पौवादुङमा १ श्यामशिलाका कालीगढ कृष्ण बहादुर विकले बताए । विभिन्न कारणले संकटमा परेको अवस्थामा स्थानीय सरकारबाट पाएको सहयोगले पेशामा लाग्न थप टेवा मिलेको उहाँको भनाइ छ । 

राज्यको तर्फबाट आवश्यक सहयोग नभएमा कालीगढ पेशा लोप हुने अवस्था रहेको विकको भनाइ छ । नयाँ पुस्ताको रोजाइमा नपर्दा पेशा संकटमा पर्दै गएको उनको भनाइ छ । ‘अत्यावश्यक औजार उपकरण बनाउने भएपनि यो पेशालाई मान्छेले अझै पनि अपहेलनाका रुपमा लिने चलन छ’ उहाँले भने,‘ नयाँ पुस्ता यो काम गर्ननै चाहदैनन् । व्यवसाय सञ्चालन गर्न पनि कोइला, दाप, वँीडको लागि काठ पाउन नै मुस्किल छ । विविध कारणले पेशा छाड्नेको संख्या बढेको छ ।’

विभिन्न समस्याको कारण मेहनत गरे अनुसारको प्रतिफल पाउन समस्या रहेको कालीगढ खड्ग बहादुर विकले बताए । राज्यले विभिन्न समयमा गर्ने सहयोगले पेशालाई जीवन्त राख्न केहि टेवा मिलेको उनको भनाइ छ । राम्रो आम्दानी नहुने देखेपछि खुकुरी बनाउने कालीगढ पेशा छोडेर अन्य पेशा तिर लाग्ने गरेको उनको भनाइ छ ।

‘सहज काम खोज्ने कारणले धेरैले कालीगढ पेशा छाड्दै गएको अवस्था छ’ उनले भने,‘पेशा छोड्दै मानिसहरु अन्य पेशा व्यवसायमा लागेको अवस्था छ । मैले गरेको काम अव मेरो छोरा, नातीले गर्छन भन्ने आशा छैन ।’ राज्यले यहि पेशा गरेर जिवनयापन गर्न सक्ने वातारण सृजना गरिदिए पेशाको संरक्षणमा टेवा पुग्ने विकको भनाइ छ । 


 

प्रतिक्रिया

सम्बन्धित