अक्षरहरूको खेल र घटुवा मास्टर
शिक्षा जगतमा अक्षरहरूको खेल एकदमै जवरजस्त छ। त्यसैले म आज तिनै अक्षरहरूको चक्करमा परेको छु । म शिक्षक हुँ । मेरो बाध्यता के छ भने अक्षरहरू खेलाएर विचार र भावना व्यक्त गर्न सक्नेहरूलाई मात्र म अब्बल र सफल घोषित गरिरहेको छु । जो अक्षर मिलाउन जान्दैनन्, जाे अक्षर खेलाउन र जोडजाड जान्दैनन उनीहरूलाई म नजान्ने र बुद्धु भन्दैछु । मेरो चाला मलाई नै चित्त बुझेको छैन । यदाकदा अक्षर मिलाउन नजान्नेहरू पनि बुद्धि नभएका होइनन भनी टोपल्छु । तर जब निर्णय गर्ने समय आउँछ नि तब म अक्षरहरूलाई नै महत्त्व दिन्छु अनि अरू कुनै कुरा गर्दिन । हरेक पटक म अक्षरहरूकै आधार लिन्छु । म भन्छु एकथोक, गर्छु अर्कैथोक । प्रश्न हो, “अक्षरहरू जोड्न सक्ने कि नसक्ने ?” अक्षर जोड्न जान्ने विद्यार्थी मेरा लागि जान्ने र बाठा/टाठा हुन । जस्ले अक्षर मिलाए, तिनैलाई स्यावासी दिएँ, कक्षा चढाईदिएँ र पुरस्कार पनि उनैलाई दिएँ । यति मात्रै होईन अरुको भन्दा बढ्ता मायाँ पनि उनैलाई दिएँ । जसले अक्षर खेलाउन र जोड्न सकेनन मेरालागि उनीहरू नजान्ने ठानिए । उनीहरू दण्डित समेत हुन लागेका छन् । तिनीहरूलाई असफल गराँए, पुरस्कार पाएनन, न त मायाँ नै पाए । यहि हो आजको असली शिक्षाको खेल । यहि खेलमा म अलमलिएको धेरै बर्ष भयो तर मलाई यसबाट छुटकारा मिलेको छैन । अब म भन्न थालेको छु, “अक्षरहरू निकै धोकेबाज छन् ।
मलाई धेरै विद्यार्थीले परीक्षा हलबाट बाहिर आएपछि सुनाएका छन , ” सर आजको परीक्षामा मैले जानेको कुरा पनि लेख्न सकिन । जानेको थियो तर जानेको सबैकुरा अक्षरमा व्यवस्थित गरेर लेख्नै सकिन, त्यो के भएको ?” मेरो कुनै जवाफ भएन । कसै कसैले परीक्षामा समय नपुगेको बताए । लेख्दा लेख्दै सरले कपि खोसिदिनु भयो भनेका छन् । एकजनाले त मलाई भने, “सर, पढेर गएको हो, सबै प्रश्नको जवाफ पनि आउथ्यो तर परीक्षा हलमा पसेपछि सबै बिर्सेको जस्तो भयो, लेख्न सकिन, कलम चलेन, म असफल भएँ ।” हो कहिलेकाही यस्तो हुन्छ । मेरो पढाइ लेखाईको अनुभव पनि त्यस्तै त्यस्तै छ । मैले पनि विद्यार्थी जीवनमा जानेको जति सबैकुरा परीक्षामा लेख्न सकिन । मनका सबै कुरा अक्षरमा मिलाएर व्यक्त गर्न सकिन । दिमागमा भएका सबैकुरा समयसिमा भित्र कागजका पानामा अभिब्यक्त भएनन् । कति अक्षरहरू दोहोरिए, कति अक्षरहरू कोरिए, कति त बुझिएनन । अन्ततः नम्बर भनेजति र सोचेको जति आएन । म केहि साथीहरूभन्दा जान्ने पनि हु अरे । शिक्षकले त्यसै भन्नु भयो। आफूलाई सम्झन्छु, म कसरी अरुभन्दा जान्ने भए? म अरु भन्दा जान्ने भएको कारण आज पत्ता लगाएँ । कारण रहेछ कि मेरा साथीहरूले मेराजति पनि अक्षर मिलाउन सकेनछन् । तुलनात्मक रूपमा उनीहरूको भन्दा मैले बढ्ता अक्षर मिलाए तर मेरा साथीहरूले मेराजति पनि अक्षर मिलाएनछन् । अक्षर जोड्ने खेलमा उनीहरू म भन्दा कमजोर रहेछन् । बर्षौँदेखि यो कथा उस्तै छ ।
आज म शिक्षक भएँ । मैले पढाउदा विद्यार्थीले कक्षामा टाउको हल्लाएर बुझेको सङ्केत गरेका थिएका थिए । उनीहरूले मलाई बुझेकै सहमति दिएका हुन । म ढुक्क थिएँ उनीहरूले बुझेकै हुन, कक्षामा मेरा विद्यार्थीको अनुहार पनि चङ्गा थियो । उनीहरूले डराउदै भएपनि मुखले जवाफ दिएकै हुन । मैले ठानेँ उनीहरूले बुझे । विडम्बना, विचराहरूले बुझेको कुरा पनि अक्षरमा बदल्न सकेनछन, असफल भइछाडे । आज उनीहरू असफल, म त झनै असफल भएको छु । मेरा विद्यार्थीले मनको कुरा/ बुझेकै कुरा/ ब्याहारमा गरेकै कुरा पनि कपिका पानामा मिलाएर व्यक्त गर्न सकेनछन। अक्षर बनाउन खोजेका थिए तर अक्षर बुझिएनछन् । नबुझ्ने अक्षर लेखेकै कारण उनीहरू असफल भए र म पनि असफल भएँ । अझै भन्नू पर्दा उत्तर जाँच्ने जाँचकीलाई मेरा विद्यार्थीले लेखेका अक्षरहरूले दिल खोलेनछ । चित्त बुझ्ने गरि अक्षरहरू जोडिएनछन् । अक्षर जोडदा पनि जाचकीको दिल छुनु पर्ने रहेछ । दिल नछोएपछि मेरा विद्यार्थी असफल, म शिक्षक पनि असफल । प्राक्टिकल अर्थात प्रयोगात्मक परीक्षा पनि हुन्छ तर अक्षर नमिलाउनेकालागि यसको खास अर्थ भएन । मैले गत साल विद्यार्थीलाई प्रक्टिकलमा पुरै नम्बर दिएँ । तर अक्षर मिलाउने खेलबाट मेरा विद्यार्थी र मलाई यति धोका भयो कि मैले दिएको प्रार्क्टिकल “को नम्बरले मलाई नै गिज्यायो । प्राक्टिकलमा यति धेरै नम्बर ? लिखितमा यति कम ?” भनेर मलाई अधिकारी सोध्छन । म सँग चित्तबुझ्दो कुनै जवाफ भएन । अन्ततः केही लागेन विद्यार्थीलाई आफैले असफल घोषणा गरि रिजल्ट भित्तामा टासेर छाडिदिएँ । मलाइ अझै पिडा छ । उनीहरूलाई असफल नगरेर भएन किनभने उनीहरूले अक्षर मिलाएनन् भन्ने आरोपमा मैले असहमति जनाउन सकिन । यति जावो अक्षर मिलाउने काम त हो नि मास्टरले गरिदिएनन भन्ने आम आरोप बजारभरि छरिएको छ । म आरोपित छु । त्यसैले त म शिक्षकवाट घटुवा भएर मास्टर भएको छु । मलाई घटिया शब्द मास्टर भन्न मानिस रुचाउछन् ।
उता अक्षर मिलाउनेको अर्को फसादि छ । अक्षर मिलाउनेले काम जानेन् अरे । उनीहरूलाई घरबाट पटक्कै बाहिर नआएको आरोप छ । भनिन्छ, उनीहरू कोठा भन्दा बाहिरको संसारप्रति अनभिज्ञ रहेका छन् । कति नानीहरू अक्षर मिलाउने खेल मात्र खेलेर कोठामा समय विताउदै छन् अरे । कतिले त काम जानेपनि काम गर्न मानेनन् । के गरौँ ? म शिक्षकसँग के छ ? मैले पनि मेरो हात दाहिना भएका बेला काम नजान्ने र काम नगर्नेलाई प्राक्टिकलमा कम भन्दा कम नम्बर दिएँ । तर मेरालागि परिणाम सुखद रहेन । परीक्षा त लेख्ने नै आयो अर्थात उही अक्षर मिलाउने खेल भयो । आखिर कामै नगर्नेले र कोठामा अक्षर खेलेर बस्नेहरूले अक्षर मिलाएछन् । तिनिहरू सफल भए, पुरस्कार र मायाँ समेत तिनैले पाए । आज तिनकै दवदवा छ । यता जुन स्कुलका शिक्षकले अक्षर मिलाउने खेल खेलाए, त्यस्ता स्कुल काविल भए । टेलिस्कोप , पेरिस्कोप र नमुना हेलिकप्टर बनाउन जान्ने मेरा विद्यार्थी कक्षा ८ मा भएको अक्षरको खेलमा असफल भएछन् । कामले उनीहरू सफल भएनन । चित्र कोर्नेहरू सफल भएनन् ,नृत्य गर्नेहरू सफल भएनन, खेलाडी सफल भएनन । अन्तत: मेरो कार्यसम्पादन बढेन । म आफै बढुवा हुन सकिन । कार्यालयका हाकिमले विद्यालयको नतिजा त्यहि अक्षरहरुबाट निस्केको परिणामबाट देखाए । मैले दिएको प्राक्टिकलको नम्बरमा हाकिमसाहेवले चित्त बुझाएनन, अभिभावकले पनि उसै गरे, म चुपचाप फर्किएँ ।
अब के गर्ने ? म एउटा निर्णमा पुगेको छु । त्यसैले मैले मेरा विद्यालयका नानीहरूलाई अबदेखि धेरै फुटवल नखेल भन्न थालेको छु, । धेरै हाईजम्म नगर भन्न थालेको छु, धेरै नृत्य नगर है भन्दैछु, नदौडनु भन्दैछु । यतिमात्र हैन, म उनीहरूलाई चित्र धेरै नकोर भन्दैछु किनभने मलाई शिक्षा अधिकारीले तैले पढाएको देखिस ? भनेर नम्बर देखाएर स्वपष्टिकरण सोधे । उनले देखाएको नम्बरमा फुटवलको प्राप्ताङ्क थिएन न त नृत्यको न त दौडको नै थियो । आज म बुझ्दै छु अक्षर मिलाउने खेलले सबै खेललाई विस्थापित गरेको रहेछ । अक्षर मिलाउने खेल नै सबैभन्दा प्रमुख खेल रहेछ । मेरा शिक्षा अधिकारी बडा दोधारे कुरा गर्नुहुन्छ । हामीलाई बोलाएर “व्यावाहार सिकाउ” भन्नुहुन्छ तर जाँच्दा अक्षरबाट जाँच भन्नुहुन्छ । अझ कानले सुनेको कुरा मुखले भन्न लगाउ भन्नु हुन्छ र कलमका टुप्पाबाट जाँच भन्नु हुन्छ । कस्तो दोधारे ? कुरा मिलेन । तर पनि आज हरेक पटक अक्षरहरू मिलाउने खेलले नै जितिरहेको छ । म पनि त्योभन्दा भिन्न हुन सकिरहेको छैन् ।
– प्रअ, कसेनी मावि तथा शिक्षक, सुकुना बहुमुखी क्याम्पस, मोरङ
प्रतिक्रिया