उपेन्द्र सुब्बाको छोरीलाई पढाउन खोटाङको शुभद्रा–मदन फाउण्डेसन इच्छुक

खोटाङ /     लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको छोरीलाई खोटाङको शुभद्रा–मदन फाउण्डेसनले पढाउने इच्छा देखाएको छ । परिक्षामा कम अंक ल्याएको विषयमा डिएभी सुशील केडिया विश्व भारती स्कुल, जावलाखेलले ‘पढाउन नसक्ने’ भन्दै अपमान गरेको सुब्बाकी कक्षा ९ मा अध्ययनरत छोरीलाई शुभद्रा–मदन फाउण्डेसनले ‘पढाइदिने’ इच्छा देखाएको हो ।

भाइस प्रिन्सिपल र दुई शिक्षकले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर छोरीलाई ‘यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु, यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दैन’ भन्दै अपमान गरेपछि बैसाख ५ गते सामाजिक सञ्जालमार्फत लेखक तथा निर्देशक सुब्बाले विशेष क्षमताको आधारमा छोरीलाई पढाउने विद्यालयआव्हान गरेका थिए । सोही आव्हानका आधारमा शुभद्रा–मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले सुब्बाको छोरीलाई शुभद्रा–मदन फाउण्डेसनले सञ्चालन गरिरहेको जनजागृति माबिमा पढाइदिने इच्छा व्यक्त गरेका छन् । “उपेन्द्र दाई हजुरको छोरी कमजोर होइन । बरु फरक क्षमता पहिचान गर्न नसक्ने घोकन्ते स्कुल कमजोर हो,” राईले बिहिबार सामाजिक सञ्जालमा लेखेका छन्, “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्ला डाडागाउँस्थित शुभद्रा–मदन फाउण्डेसनले सञ्चालन गरिरहेको जनजाग्रिती मावि छोरीलाई उपयुक्त लाग्छ भने यस स्कुलमा हार्दिक स्वागत छ ।”

श्रीमती र छोरीले रुँदै विद्यालयमा गरिएको अपमान बारे बताए पछि सुब्बाले पेन्टिङ, गायन, नृत्य, अभिनय र फिक्सन पढ्न रुची राख्ने छोरीलाई सोही क्षमताको आधारमा पढाउने स्कुल चाहिएको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । उनले सो वापत लाग्ने शुल्क नियमित तिर्ने बताएका छन् । सामाजिक सञ्जालमा पहिला पनि सोही स्कुलका जोशी थरका शिक्षकले ‘पढेर केही गरि खान सक्दैन । बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ’ भनेको उल्लेख छ ।

शुभद्रा–मदन फाउण्डेसनमा विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने उद्धेश्यले चार ‘क’ (कोदालो, क्यामेरा, कम्प्यूटर र कलम) अर्थात ‘कोदालोदेखि कम्प्यूटर’ चलाउनेसम्मको अभ्यास गराउने गरिएको छ । संसारको लागि वातावरण शिक्षा (दिसा, पिसाव, पसिनाको पुःन प्रयोग), राष्ट्रका लागि अर्थतन्त्र शिक्षा (कृषि, उद्योग, व्यापार, सेवा) तथा व्यक्तीका लागि योग्यता शिक्षा (ज्ञान, बुद्धि, विवेक, सिप)लाई जोड दिइन्छ ।

कृषिबिज्ञ मदन राईले २०७० सालमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा हाल सात वटै प्रदेशका हिमाल, पहाड, तराई तथा भारत (बिहार)का गरी डेढ सय विद्यार्थी आवासीय अध्ययनमा छन् । हाल मानव शिक्षालयका रुपमा स्थापित फाउण्डेसनमा कतिपय अभिभावकले जापानमा पढिरहेका बालबच्चालाई समेत भर्ना गरिदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित