सिद्धार्थ स्कुलको २८ औ अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न 

सुन्दरहरैँचा  / मोरङको सुन्दरहरैँचा १० खाेर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले  २८ औ अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  फागुन ११ देखि १४ गते सम्म  सिद्धार्थले  अभिभावक दिवस मनाएको हो । सिद्धार्थको  अभिभावक दिवसका अवसरमा  वार्षिक प्रतिभा प्रतियोगिता अन्तर्गत डान्स,नृत्य,गायन,वक्तृत्वकला , चित्रकला , पुरस्कार वितरण लगायतको भव्य कार्यक्रम गरी मनाएको विद्यालयका सहायक प्रिन्सिपल जेवि थुलुङले बताए ।

उनले कक्षा ११ र १२ का होटेल म्यानेजमेन्टका विद्यार्थीबिच सेफ च्याम्पियनसिप , रूविक्स क्युब च्याम्पियनसिप ,विद्यार्थीद्वारा विभिन्न स्टलहरू निर्माण साथै  विज्ञान  गणितका रमाइला खेल , पुराना सामग्री मुद्रा तथा सिक्का प्रदर्शनी , फेस पेन्टिङ समेत सञ्चालन गरिएको  उल्लेख गरे । 

    त्यसै गरी  सिद्धार्थ स्कुलले अभिभावक दिवसको अवसर पारेर  वृहत् नि:शुल्क स्वास्थ्य  शिविर  सम्पन्न गरेको छ ।  शिविरमा विद्यार्थी ,अभिभावक तथा स्थानीयवासी लगायत  करिब १५ सय बिरामीले चेकजाँच गरी सेवा सुविधा लिन सफल भएको विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले उल्लेख गरे । शिविरमा जेनेरल मेडिसिन, महिला रोग, हाडजोर्नी तथा नशा रोग साथै  नाक, कान, घाँटी, छाला र यौन रोग ,बाल रोग ,आँखा रोग,शल्यक्रिया (सर्जन), दन्त रोग,भिडियो एक्स-रे ,ई.सी.जी. (मुटु जाँच),ल्याब(रगत  जाँच) सञ्चालन गरिएको थियो ।  नोबेल हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । 

   स्वास्थ्य  शिविरको कार्यक्रमसँगै विद्यालयले सो अवसरमा  वक्तृत्वकला तथा उत्कृष्ट विद्यार्थीलाई वार्षिक  पुरस्कार वितरण समेत गरेको थियो। उत्त  वक्तृत्वकला कार्यक्रममा निर्णायकको रूपमा  शिक्षा सेवी प्रेमप्रसाद भट्टराई तथा गुरुप्रसाद अधिकारी रहेका थिए । 


   
    त्यसै गरी सिद्धार्थ स्कुलको अभिभावक दिवसमा खुल्ला रक्तदान कार्यक्रम भएको थियो । उत्त रक्तदान कार्यक्रममा ६५ जानाले रक्तदान गरेका थिए । सिद्धार्थ स्कुलले समाजप्रतिको उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरूका चौतर्फी विकासका लागि ४ दिन सम्म  स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विविध कार्यक्रम गरी  २८ औ अभिभावक दिवस मनाएको  विद्यालय व्यवस्थापन समिति  अध्यक्ष निलम ढुङ्गानाले बताइन् । 

   हाल सिद्धार्थमा १ हजार ३ सय भन्दा बढी विद्यार्थीहरू सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ सुरु गरेको सिद्धार्थमा विगत केही वर्ष देखि +२ को पढाइ समेत सञ्चालन हुँदै आएको छ । आइएसओ प्रमाणपत्रबाट  मान्यताप्राप्त यस विद्यालयले  गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्यार्थी तथा अभिभावकको पहिलो  रोजाई बन्न सफल भएको विद्यालयका प्रिन्सिपल बस्नेतले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित