वाल्मिकि मेमोरियलको २५ औँ रजत जयन्ती

पथरी / वाल्मिकि मेमोरियल सेकेन्डरी बोडिङ्ग स्कुलले आफ्नो २५ औँ रजत जयन्ती मनाएको छ । रजत जयन्तीको अवसरमा विद्यालयले संस्थापक शिक्षक शिक्षिका, सञ्चालक र अभिवाकलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक केदार खनाल, अमर काफ्ले र तुलसी पौडेललाई सम्मानित गरिएको थियो भने विद्यालयको स्थापना कालका ८१ जना अभिभावक, विद्यालय व्यवस्थापन समितिका संस्थापक र संस्थापक २८ जना शिक्षक शिक्षिकाहरू सम्मानित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले विद्यालयले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर सर्टिफिकेट आई.एस.ओ. को प्रमाण प्रत्र अनावरण गर्नु भएको थियो । रजत जयन्ती अवसरमा विद्यालयका निर्देशक नोवल किशोर खनालले आफ्नो विद्यालय एक अन्तर्राष्ट्रिय गुणस्तर मापक संस्था रहेको बताउँदै अभिभावक र विद्यार्थीको चाहना अनुरूप शिक्षण सिकाईका साथ अन्य क्रियाकलापमा अघि बढ्ने बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै पथरीशनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलालले यस विद्यालयले शिक्षाको अलावा राम्रो संस्कारको विकास गरेको र देशले खोजेको दक्ष विद्यार्थी उत्पादनमा सहयोग गरेको बताउनु भयो । खुलाल आगामी वर्षहरूमा समेत विद्यालयले यस्तै सफलता चुम्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

२०५८ सालमा ११ जना विद्यार्थी एस एल सी मा सहभागी भएर सत प्रतिशत नतिजा निकालेको विद्यालयले गएको वर्ष ९४ बिध्यार्थी लाई एस ई ई परिक्षाबाट सत प्रतिशत नतिजा निकाल्न सफल भएको थियो । हाल सम्म उक्त विद्यालयबाट एस एल सी र एस ई ई मा आठ सय उनासी र कक्षा १२ बाट एक हजार छपन्न जना विद्यार्थीले सफलता पाएको प्रिन्सिपल चन्द्र प्रसाद दुलालले बताउनु भयो । कार्यक्रममा प्रिन्सिपल दुलालले वार्षिक प्रतिवेदन तथा भावी ५० वर्षे कार्य योजना समेत पेस गर्नु भएको थियो ।

कार्यक्रममा स्थापना काल देखि हाल सम्म समाजमा उत्कृष्ट कार्य गर्दै योगदान पुर्‍याउने पूर्व विद्यार्थी र गत वर्षको शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । २०५४ सालमा एक सय विश जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको विद्यालयमा हाल बाह्र सय पच्चिस जना विद्यार्थी रहेको छ । स्थापना कालमा भाडामा सञ्चालन भएको विद्यालयको हाल ११ कट्ठा ५ धुर जमिनको क्षेत्रमा तीन वटा भवन र खेल मैदान निर्माण गरी विद्यालयका सञ्चालन हुँदै आएको छ ।

उक्त अवसरमा विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धी ज्ञान प्रदर्शन गर्नुका साथै विभिन्न जातजातिका झाँकी, भेषभुषा सहित आ आफ्नो गायन, नृत्य तथा सांस्कृतिक कलाहरू प्रस्तुत गरेका थिए । रजत जयन्ती समारोह शिक्षक अभिभावक संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रदेश नं १ का क्याप्सन अध्यक्ष टिकाराम ढकालले, पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित