पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्री परिषदबाट स्वीकृत

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्री परिषदबाट स्वीकृती प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९ औं वर्ष चलिरहँदा यसले पूर्णता पाएको हाे । बिगत लामो समय देखिकाे जनताको आकांक्षा पूरा भए पछि यहाँका स्थानीय अहिले हर्सित भएका छन् । कोशी अञ्चल अस्पताललाई टिचिङ अस्पतालको रूपमा प्रयोग गरि पियूमा मेडिकल कलेज सञ्चालन गरिने तयारी भएको माेरङ क्षेत्र न. ३ का सासद डा. सुनिल शर्माले उल्लेख गर्नुभयाे ।

अस्पताल सेवा विस्तारका साथै मेडिकल कलेज सञ्चालनका लागि माेरङ क्षेत्र न. ३ का साँसद डा.शर्मा तथा प्रदेश माननीय मन्त्री जीवन आचार्य लगायतले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँगको भेट तथा प्रधानमन्त्रीको सकारात्मक सोचका कारण क्याविनेटबाट निर्णय हुन सफल भएको सुन्दरहरैँचा नगरपालिकाका निर्वतमान नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयाे ।

सासद डा. शर्माले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो। उहाँले कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न नपाइने बताउँनुभयाे । “ त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो ” उहाँले भन्नुभयाे ।

उहाँले विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा. विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा सघन रूपमा छलफल भएर मेडिकल कलेज सञ्चालनका लागि मन्त्री परिषदबाट स्वीकृत भएको उल्लेख गर्नुभयाे। “अब कुनै पनि बहानामा अस्पताल सञ्चालन कार्य राेकिने छैन् “ शर्माले भन्नुभयाे “ अस्पताल पूर्ण रूपमा सञ्चालन भएसँगै मेडिकल कलेज सुरू गर्न अब कुनै अप्ठ्यारो नभएको बताउनुभयो।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले आगामी वर्षदेखि मेडिकल कलेज सञ्चालन र भर्ना प्रक्रिया सुरू हुने जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले कोसी अस्पताललाई टिचिङ्ग अस्पतालको रूपमा प्रयोग स्वीकृति दिएको छ, उपकुलपति कोइरालाले भन्नुभयो “अब बाँकी काम विश्वविद्यालयले अगाडी बढाउने हो ´´। उपकुलपति प्रा.डा. कोइरालाका अनुसार मन्त्रिपरिषद्ले कोसी अस्पताल प्रयोग स्वीकृति दिएसँगै विश्वविद्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबीच त्रिपक्षीय समझादारीमा हस्ताक्षर हुनेछ । सम्झौतासहितको सम्पूर्ण प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा विश्वविद्यालयले पेस गर्नेछ ।विश्वविद्यालयले पेस गरेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा आयोगले कोटासहित मेडिकल कलेज सञ्चालनको अनुमति दिएपछि भर्नाको प्रक्रिया प्रारम्भ हुनेछ ।

विश्वविद्यालयका उपकुलपति प्राडा कोइरालाले विश्वविद्यालयले
थप केही आवश्यक सुधार गरि गाेठगाउँ अस्पताल सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले स्थानीय समाजलाइ अस्पताल तथा मेडिकल कलेजसँग जोडेर गोठगाउँमा विश्वविद्यालय भएको अनुभूति दिलाउँन सफल भएको उल्लेख गर्नुभयाे । कोइरालाले भन्नुभयो, “अब नयाँ प्रकृयाबाट काम अघि बढेर तीन सय शय्याको अस्पताल समेत सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो“ ।

विश्वविद्यालयका अस्पताल निर्देशक डाक्टर आचार्यले हाल अस्पतालले १२ जना विशेषज्ञ डाक्टरसहित करिव ८५ जना जनशक्तिबाट स्वास्थ्यसेवा दिइरहेको उल्लेख गर्नुभयाे । निर्देशक डा.आचार्यले भन्नुभयो, “हामीले २०७७ कात्तिकमा पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय गोठगाउँमा सरेपछि यहाँ अस्पताल छ, भन्ने सम्म बनाएका हाैँ । हाल दैनिक न्युनतम ३ सय ५० देखि ४ सय जनासम्म बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन्।”

विश्वविद्यालयले स्थापना कालमा सात सय शय्याको अस्पताल सञ्चालन गर्ने अनुमति लिएको थियो। पछि घटाएर तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय भएको हाे । २०६५ सालमा ५० शय्याको अस्पताल सुरू गरेको विश्वविद्यालयले हाल गाेठगाउँमा आकस्मिक सेवासहित ३० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ।

अस्पतालमा आकस्मिक सेवा भए पनि हाल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ।
हाल चिकित्सा शास्त्रअन्तर्गत विश्वविद्यालयमा बिएस्सी नर्सिङ, पीबिएन, बीपीएच, बी फार्मेसी, बीएस्सी एमएलटी, एमपीएच र एम फार्मेसी गरी सात विषयमा पढाइ सञ्चालन भै रहेको छ । अहिले पियुमा विभिन्न विषयमा गरि करिव ७ सय विद्यार्थीहरू अध्ययानरत छन्।

पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा ३० करोड रूपैया लगानी गरी निर्माण गरेका भवनहरू कुनै समय काँसघारीले छोपिएका थिए । यतिबेला विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने विषयले स्थानीय मात्र होइन विश्वविद्यालय प्रशासन पनि उत्साहित भएकाे पियूका सिनेट सभा सदस्य लाेकप्रसाद संग्राैलाले उल्लेख गर्नुभयाे ।

पूर्वाञ्चल विश्वविद्यालयकाे भवन २०५१ सालमा स्व. गिरिजाप्रसाद काेइरालाले शिलान्यास गर्नु भएको थियाे । नेपाल सरकारले विश्वविद्यालयलाई भोगचलन गर्न दिएको ८०५ बिघा जग्गामध्ये ८५ बिघा जमिनमा विश्वविद्यालयले घेराबार गरेको छ। विगत बर्षमा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँमा आएकाे खुसिसँगै अहिले स्थानीयहरू मेडिकल कलेज सञ्चालन हुनेमा ढुक्क रहेकाे सञ्चारकर्मी बाबुराम निराैलाले बताउँनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित