सुकुना क्याम्पसको १६ औँ परिषद् बैठक सम्पन्न

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसको १६ औँ परिषद् बैठक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी माेरङ क्षेत्र न.३ का सांसद डा. सुनिलकुमार शर्माले क्याम्पस परिषद बैठककाे उदघाटन गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमा रहेका सर्वसाधारण जनताले समेत यो क्याम्पस मेरो हो ,यसको संचालक म पनि बन्न सक्छु भन्ने उद्देश्य राखि यसलाई देशकै नमूना क्याम्पस बनाउन लाग्नुपर्ने बताएका छन् । उनले सुकुना क्याम्पसमा अझै थप विषयको अध्यापन गराउने व्यवस्था हुनुपर्ने उल्लेख गरे। इच्छाशक्ति भए क्याम्पसमा दिवाकालीन, प्रातकालीन र सन्ध्याकालीन सत्र पनि सञ्चालन गर्न सकिन्छ शर्माले भने ´परिषद् सदस्य बिस्तार गर्ने क्रममा लिइने शुल्कको वर्गीकरण गरिनुपर्ने आवश्यक देखिन्छ ´। त्यसो गर्न सकेमा सबैको अपनत्व क्याम्पसको शैक्षिक स्तर उक्सिने तिर हुनेछ । कानेपोखरी वरतिर जंगलमा मकै पोल्ने, गछिया खोलामा मजदुरी गर्ने लगायतलाई परिषद् सदस्य बनाउन शुल्कको वर्गीकरण गरिनुपर्ने डा. शर्माकाे भनाइ थियो ।

‘परिषद सदस्य बिस्तारमा सङ्कुचित मानसिकता बनाउन हुँदैन’, प्रमुख अतिथि डा. शर्माले भने, ‘सबैको अपनत्व हुने गरी क्याम्पस सञ्चालन गरेमा सुकुना देशकै सर्वाेत्कृष्ट क्याम्पस बन्छ ।’ अहिले परिषद् सदस्य बनाउने प्रक्रिया राजनीति केन्द्रित जस्तो देखिएको डा. शर्माले आरोप लगाए । उनले व्यक्ति हेरेर परिषद् सदस्य बनाउने क्रम अन्त्य गर्न तथा विश्वविद्यालयको रुपमा क्याम्पसलाई स्तरोन्नति गर्न क्याम्पसमा सर्वसाधारणको अपनत्व हुने गरी काम हुनुपर्नेमा जोड दिए । विश्वविद्यालय सञ्चालन गर्ने क्रममा आवश्यक पर्ने जुनसुकै काम गर्न आफू तयार रहने डा. शर्माले बताए ।

उनले विश्वविद्यालय सञ्चालन गर्न नसके नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर प्राविधिक धारका थप कक्षा सञ्चालन गर्नमा क्याम्पस सञ्चालक समिति लाग्न समेत सुझाव दिए । डा. शर्माले कुनै राजनैतिक आस्थाका आधारमा हैन नमुना कलेजको रूपमा सबै मिलेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे। सुकुना बहुमुखी क्याम्पसकाे परिषद् बैठकमा नगर प्रमुख केदारप्रसाद गुरागाई , जिल्ला समन्वय समिति माेरङका अध्यक्ष अजम्बर राई , नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शिवराज सञ्जेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समारोहमा वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख चन्द्रमणि राईले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सभापतित्वमा सुकुना बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गरेका थिए। । कार्यक्रम सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीकाे सञ्चालनमा भएको थियाे । बि.सं. २०४८ सालमा स्थापना भएको सुकुना क्याम्पसले विगत बर्षमा रजत महाेत्सव मनाएर १६ अाै परिषद बैठकका अवसरमा ४११ पेज भन्दा बढीकाे रजत महाेत्सव स्मारिका समेत सार्वजनिक गरेको छ । प्रदेश नं. १ कै पब्लिक क्याम्पसमा उत्कृष्ट क्याम्पसको पहिचान बनाएको सुकुना क्याम्पस त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त तथा विश्वविद्यालय अनुदान आयाेग नेपालबाट गुणस्तर प्रत्यायनकृत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित