के हो इटहरी चौकमा चार जनाले बोकेको आकृति ?

इटहरी । इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने वित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतीमा जान्छ । ट्राफिक लाईटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यति आकृती मै पुग्छ । आकृती हेरेपछि सबैको मनमा प्रश्न उब्जिन्छ । यी चार जना मानिस को हुन ? यीनीहरुले के बोकेका हुन ? उत्तर सोच्दा सोच्दै रेड सिग्नल ग्रिन हुन्छ मानिस गन्तव्यमा हुईकिन्छन् । प्रश्न बाँकी नै रह्यो ।

सामाजिक सञ्जाल फेसबुकका सेल्फी । टिकटकमा यहि आकृतीको भिडियो भाईरल भईरहेको छ । यहाँ पनि प्रश्न बाँकी नै छ ।तपाईहरु मध्ये धेरैलाई यस्तै तौतुहल भईरहेको होला । सबै तिर चर्चा भईरहेको चौरस्ता गोलो चौकको आकृती के हो ? ती मानिस को हुन ? उनीहरुले बोकेको के हो ? अनि, यसले बुझाउन खोजेको म्यासेज के हो ?

इटहरीको पहिचान

मुख्य गोलो चौकमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन । हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेषी समुदाय । अनि इटहरीका प्रथम जाति थारु समुदायको प्रतिनिधि मुलक रुपमा चार जना मानिसलाई विम्बात्मक रुपमा देखाईएको हो ।

यी मानिसहरुले बोकेको आकृती ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट हरी भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधिलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए । तल पट्टि इटाले बनाईएको, वीचमा प्वाल राखि माथी काठले बनाईएको ‘तुरुङ’ अर्थात हरी, सजाय दिने उपकरण । जसलाई थारुहरुले आफ्नो भाषामा इट र हरि भन्थे । पछि यहि इट हरी बोलीचालीमा इटहरी भएको हो । हिमाल पहाड र तराईमा बसेका मानिसहरुले इट हरी बोकेका हुन । अर्थात इटहरी बोकेका हुन । समग्रमा यो आकृतीले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।

‘यो आकृतीले इटहरीको नामकरण, पहिचान, भुगोल, बसोबास र पुरातात्विक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘थिम’ पनि यहि हो । ’ कलाकृतीको कन्सेप्ट तथा डिजाईन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले बताए । कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृती निर्माण गरिएको हो । फाईबर ग्लासले बनेका यी कलाकृती कम्ती पनि ७० बर्ष टिक्ने अभिषेक बताउँछन् ।

माथीको आकृतीलाई सौन्दर्यकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाईएका छन् । त्यसमा सुन्दर फूलहरुको गार्डेन निर्माण गरिने छ । हाँस तराईमा हुने पक्षी हो । त्यसैले हाँसको गमला बनायौँ, यसबाट पनि केही सन्देश दिन खोजिएको छ, कलाकार अभिषेकले बताए ।

वरीपरी ८ वटा नोजल जडान गरिएका छन् । जहाँबाट पानीको फोहोराले थप सुन्दरता थप्नेछ, अभिषेकले योजना सुनाए । चार सुरका खम्बामा लाईट जडान गरिएको छ । जहाँबाट रातको समयमा विभिन्न रंगका लाईटले उभिएका कलाकृतीलाई थप रंगिन, आकर्षक अनि कलात्मक देखाउने अभिषेकले बताए । हिमाल पहाड र तराईका समावेशी नेपालीले बोकेको इट हरी । सेता हाँसका गमलामा फूलेको फूल । पानीको फोहोरलाई रप्तरंगी लाईटको प्रकाशले इटहरीको मुख्य चौक हेर्दै आकर्षक र कलात्मक देखिनेछ अभिषेकले पुर्ण चित्रको व्याख्या सुनाए ।

अहिले मानिसहरुको ध्यान मुख्य रुपमा तरुङमा गएको छ । माथीबाट हेर्दा यो जिजसलाई झुण्डियाईएको क्रुस जस्तो देखियो भन्न थालेका छन् । माथी अग्लो ठाउँबाट हेर्दा लामो, अलि भत्ता र क्रुस जस्तो देखिँदा यसको वास्तविक अर्थ गौण भएर अर्कै अर्थ बुझ्न थालेको कतिपयको आरोप छ ।

आरोपहरु सुनिरहेका कलाकार अभिषेक त्यस्तो नभएको बताउँछन् । यहाँ केही भ्रम पर्न र पार्न खोजिएको छ । उनले यसको अर्थ बुझाए । यहाँ मुख्य ३ कुरा बुझ्नुपर्छ । क्रुस, प्लस र क्रस । क्रुसको आकार प्लस भन्दा माथीबाट काटिएको हुन्छ । सेन्टर भन्दा माथी । प्लस जो रेडक्रसले प्रयोग गर्छ, यसको सेन्टरबाट काटिएको हुन्छ । र अर्को रह्यो क्रस अर्थात एक अर्कामा काटिएका हुन्छन् ।

अभिषेकले स्पष्ट पार्दै भने यो आकृती प्लसमा छ । क्रुस हुनै सक्दैन । क्रुस हुन सेन्टर भन्दा माथि काटिनुपर्छ, यो प्लसमा छ ।केही लामो जस्तो देखिँदा मानिसलाई त्यस्तो भ्रम पर्न गएको हो । अर्को तर्फ यहाँ तुरुङको प्वाल धरै देखिएर पनि त्यस्तो पर्न गएको हुन सक्छ उनले भने यसलाई प्राविधिक रुपमा मिलाउने काम गर्दैछौँ र कलर पनि चेन्ज गर्दै छौँ ।

 

विरेन्द्रको सालिक भनेर इटहरी ?

खासमा यहाँ स्वर्गीय राजा विरेन्द्रको सालिक राख्ने चर्चा थियो । विरेन्द्र कै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयंमले बताएका थिए । तर अहिले विरेन्द्रको सालिक हैन इट हरी बन्यो । कसरी यस्तो भयो ? अभिषेक मुस्कुराए । खास कुरा भनौ है हाँस्दै अभिषेकले भित्री कुरा खोले । सुरुमा यहाँ विरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि थियौँ । राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरु तर्सिए । सालिक राख्ने पनि यहिँ छन् ।सालिक ढाल्नेहरु पनि यहिँ छन् ।

विरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरुलाई चोट पुग्यो । अहिले सालिक ढाल्नेहरु शक्ति र सत्तामा छन् । यो विषय राजनितिक विषय बन्यो । राजनितिकरण गरियो । राख्नु पर्छ र राख्नु हुँदैन भन्दै आन्दोलन हुन थाल्यो । सामाजिक सञ्जाल देखी सडक सम्मै समर्थन र विरोध पोखिए । द्धन्द्ध बढ्न सक्ने देखे पछि नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले विकल्पको खोजी गरे । विकल्प खोज्दा इटहरीकै पहिचान राखाँैँ भन्ने सहमति भयो । सोही अनुसार अहिलेको कलाकृती बनेको हो । अभिषेकले वास्तविकता सुनाए ।

विरेन्द्र चौक अब इटहरी चौक

विरेन्द्र चौक भन्दै आएका इटहरीबासीले अब मुख्य गोलो चौकलाई इटहरी चौक भन्नेछन् । विरेन्द्र चौक भन्न थालिएको पनि धेरै भएको छैन । विरेन्द्रको पूर्ण कदको सालिक राखेपछि नै यो चौकको नामकरण भएको हो विरेन्द्र चौक ।

इटहरीका कलाप्रेमी राजावादीे नेता रामकुमार सुब्बाको अगुवाईमा विरेन्द्रको सालिक स्थापना भएको थियो । विरेन्द्रको सालिक तत्कालिन रानी ऐश्वर्यले उद्घान गरेकी थिईन । तर वि.स. २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनमा सालिक ढालियो ।

हुन त विरेन्द्रको सालिक साल अघि यहाँ कुनै चौक थिएन । घरहरु थिएनन् । अहिले चौक भएको स्थान देखी उत्तर तर्फ महेश्वर सुब्बाको काठको ठुलो घर थियो । बस्ती बढ्दै गएपछि यहाँ चौक बनेको हो । नाम विहिन भएको समयमा विरेन्द्रको सालिक राखेसँगै चौकको नामकरण पनि भएको थियो ।

०६२ ÷०६३ को जनआन्दोलनले विरेन्द्रको सालिक ढाले पछि यो चौक फोहोर र कुरुप बनेको थियो । हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएर आएसँगै इटहरी चौकको सौन्र्दयकरण गर्ने योजना सुरु भएको थियो । सोही योजना अनुसार विरन्द्र चौक अब इट हरी अर्थात इटहरी चौक बनेको हो । तस्विर गुरु ढकाल

प्रतिक्रिया

सम्बन्धित